बारा — दुई सातादेखि कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुःनस्थापना (सुधार) केन्द्रमा भर्ना भएका धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको कुटपिटबाट मृत्यु भएको छ । अनुशासन भंग गरेको भन्दै शारीरिक सजाय स्वीकार नगर्दा केन्द्रका परामर्शदातासहितको सामूहिक कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कलैया–९ का ३७ वर्षीय मण्डललाई बिहीबार मध्यराति अनुशासन भंग गरेको भन्दै सजाय दिन खोज्दा उनले नमानेपछि सामूहिक रुपमा कुटपिट गर्दा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताए ।
‘मुक्काले अनुहारमा कुटपिट गरिएको संकलित प्रमाणले प्रस्ट भएको छ,’ उनले भने, ‘मध्यरातमा कोठाभित्र कुटपिट गरिएको रहेछ । शारीरिक यातना दिन मुर्गा बनाउन खोजिएको रहेछ, मुर्गा बन्न उनले नमानेपछि कुटपिट गरिएको देखिन्छ ।’ मण्डललाई दुई साताअघि परिवारले नै पुनःस्थापना केन्द्रमा राखेका थिए ।
कुटपिटपश्चात् अचेत बनेका मण्डललाई केन्द्रका परामर्शदाताले उपचारका लागि सुरुमा कलैया सिटी अस्पताल लगेका थिए । त्यहाँबाट रिफर गरेपछि कलैया प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको पुष्टि गरेका हुन् । भाडाको घरमा संचालित पुनःस्थापना केन्द्रमा सञ्चालकको तर्फबाट रेखदेख गर्ने र परामर्शदाताबाहेक मण्डलसहित १४ जना बस्दै आएका थिए ।
लागूऔषध कुलतमा फसेकाहरूको सुधारका लागि सञ्चालनमा ल्याइएको पुनःस्थापना केन्द्र जिल्ला प्रशासन बारामा दर्ता नभएको र सञ्चालनको अनुमतिसमेत नलिएको सञ्चालकका भाइ तमन्ना मन्सुरले प्रहरीलाई बयान दिएको अनुसन्धानमा खटिएका जिल्ला प्रहरीका इन्स्पेक्टर राजेश खत्रीले बताए ।
‘पक्राउ परेका सात जनामाथि कर्तव्यज्यान कसुरअन्तर्गत अदालतबाट सात दिनको म्याद थपको अनुमति लिइ हिरासतमा राखेका छौं,’ उनले भने, ‘घटना संवेदनशील भएकाले सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको छ ।’
कुटपिट गरिरहेको सीसी टीभीको फुटेज प्रहरीले सुरक्षित राखेको छ । भिडियो फुटेजमा शारीरिक यातना दिन खोजिएको र मृतक ओछ्यानको झुलमा लुक्न खोज्दा तानेर सामूहिक कुटपिट गरिएको दृश्य देखिन्छ । मृतकको शवलाई कलैया प्रादेशिक अस्पतालमा परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ ।
पुनःस्थापना केन्द्रका संचालक कलैया–३ का साहेबबाबु मन्सुर सम्पर्कविहीन छन् । पुनःस्थापना केन्द्रको रेखदेख उनका भाइ २९ वर्षीय तमन्ना मन्सुरले गर्दै आएका थिए । तमन्ना नेविसंघ बारा क्षेत्र नम्बर ३ का सभापति पनि हुन् । कुटपिट आरोपमा तमन्नासहित सात जना पक्राउ परेका हुन् । पक्राउ पर्ने अन्यमा वडा–१ का २४ वर्षीय अरूण सर्राफ, १९ वर्षीय सागर गुप्ता, वडा–२ का २१ वर्षीय परमेश्वर साह, कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, वडा–४ का २२ वर्षीय निरज सर्राफ र वडा–६ का २० वर्षीय महम्मद आँसु मियाँ रहेका छन् ।
