पर्सा — कान्तिपुरका दार्चुला संवाददाता मनोज बडू गोतामे पत्रकारिता स्वर्णपदकबाट सम्मानित भएका छन् । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगन्जले शुक्रबार आयोजित एक कार्यक्रमबीच पत्रकार बडुलाई सम्मानित गरेको हो ।
प्रतिष्ठानले मोफसलमा सक्रिय पत्रकारिता गर्दै आइरहेका एक पत्रकारलाई बर्सेनि एक तोला सुनको स्वर्णपदकसहित सम्मान गर्दै आएको छ ।
संविधानसभा सदस्य अनिलकुमार रुङटा र प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माले पत्रकार बडूलाई पदक वितरण गरेका हुन् । संविधानसभाका सदस्य रुङटाले पत्रकारितालाई स्वच्छ र पारदर्शी बनाउँदै लैजानुपर्ने धारणा राखे । पत्रकार चन्द्र किशोरले स्वर्गीय पत्रकार गौतमले राष्ट्र र समाजप्रति निष्ठावान पत्रकारिता गरेको स्मरण गरे ।
पत्रकार बडू १२ वर्षदेखि दार्चुलामा कार्यरत छन् ।
