जनकपुर — ५ महिनादेखि तलब–भत्ता नपाएको भन्दै जनकपुरको पुरानो सरस्वती माध्यमिक विद्यालयका शिक्षक–कर्मचारीले बिहीबारदेखि कक्षा स्थगन गरेका छन् ।
कुनै मनासिब कारण नदेखाउँदै ५ महिनासम्मको तलब–भत्ता निकासा नहुँदा आर्थिक, भौतिक र मानसिक पीडा भएको भन्दै सरस्वती माविका २५ जना शिक्षक–कर्मचारीले बिहीबार दिउँसो १२ बजेपछि विद्यालयका सम्पूर्ण कामकाज बन्द गरेको छ ।
विद्यालयका शिक्षक–कर्मचारीले जारी गरेको सार्वजनिक अपिलमा कक्षा स्थगनले विद्यार्थी र सम्बन्धित वर्गमा असुविधा परे पनि त्यसको जिम्मेवारी जनकपुर उपमहानगरपालिकाले लिनुपर्ने जनाएको छ ।
सरस्वती माविका शिक्षक–कर्मचारीको कात्तिकदेखिको तलब–भत्ता बाँकी छ । कक्षा स्थगन गरेका शिक्षक–कर्मचारीले भने अब एकमुष्ट दुई त्रैमासिक कात्तिकदेखि चैतसम्मको पाउनुपर्ने माग गरेका छन् । जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले लामो समयदेखि उपमहानगरमा लेखा प्रमुख नहुँदा तलब–भत्ता निकासीमा विलम्ब भएको बताए ।
‘दुई महिनाअघि लेखा प्रमुख अवकाश भए । त्यो यता उपमहानगरपालिका लेखा प्रमुखविहिन थियो,’ प्रमुख प्रशासकीय अधिकृत केसीले भने,‘अरु कार्यालयमा पनि काम गर्ने एक जना लेखा प्रमुख अहिले आएर काम हेरिरहनु भएको छ । अर्को सातासम्म सबै शिक्षक–कर्मचारीको तलब–भत्ता निकासा हुनेछ ।’
