वीरगन्ज भन्सारको राजस्व असुलीमा सुधारको संकेत

माघमा संकलन गर्‍यो १४ अर्ब ५२ करोड रुपैयाँ राजस्व

फाल्गुन १, २०८१

शंकर आचार्य

A sign of improvement in the revenue collection of Birgunj Customs

पर्सा — वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा सुधारको संकेत देखिएको छ । माघ महिनामा भन्सारले लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको हो । यस महिनामा १७ अर्ब ५ करोड रुपैया राजश्व संकलनको लक्ष्य रहेकोमा १४ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन भएको हो । जुन लक्ष्यको ८५ दशमलव २० प्रतिशत हो ।

चालु आर्थिक वर्षमा यो भन्सार कार्यलयबाट २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलनका लक्ष्य राखिएको छ । असारयता १ खर्ब २१ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ९४ अर्ब ५९ करोड रुपैयाँ संकलन भएको छ ।

कोरोनाकाल पछि सुरु भएको आर्थिक मन्दीको कारण आयात निर्यात व्यापार खस्किएपछि यो भन्सारले २ आर्थिक वर्षयता राजस्व संकलनको लक्ष्य भेटन सकेको छैन । 

वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकृत अमित तिवारीले चालु आर्थिक वर्षमा आयात निर्यात व्यापारमा केही सुधार आउँदै गएकाले राजस्व संकलनमा पनि त्यसको सकारात्मक प्रभाव देखिएको बताए । उनले राजश्वमा योगदान गर्ने प्रमुख आयातित बस्तुहरुमा जिप, कार, भ्यान, बस ट्रकका चेसिस, एलपि ग्यास, ग्यास लाइटर, हवाई इन्धन लगायतका सामान भएको बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully