पर्सा — वीरगन्जस्थित नारायणी उप-क्षेत्रीय अस्पतालमा ३ सय ५० शय्याको नयाँ भवन बन्ने बाटो खुलेको छ । सर्वोच्च अदालतले अस्पतालको भवन निर्माणसम्बन्धी परेको रिटमा फैसला गरेपछि भवन निर्माण गर्ने बाटो खुलेको अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले बताए ।
न्यायाधीशद्वय हरि फुँयाल र सुनिल पोखरेको संयुक्त इजलाशले सोमबार गरेको फैसलबाट अस्पताल निर्माणका लागि नयाँ ठेक्का लगाउने बाटो खुलेको हो ।
सरकारले नारायणी अस्पताललाई २०७४ मा ५ सय शय्याको घोषणा गरेको थियो । अस्पतालमा यसअघि नै १ सय ५० शय्या रहेकाले ३ सय ५० शय्याको नयाँ भवन निर्माणका लागि २०७५ चैत १८ मा १ अर्ब ५५ करोड ५३ लाख ८४ हजार ७५ रुपैयाँ बजेट विनियोजन पनि गरेको थियो । भवन निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले ठेक्का गरेपछि २०७६ जेठ २ मा एकमात्र बोलपत्र बंग्लादेशको एनडीई/भ्याली कन्स्ट्रक्सन प्रालि/नेसनल डेभलपमेन्ट इन्जिनियरिङ पुलचोक ललितपुरलाई परेको थियो ।
सार्वजनिक खरिद नियमावली अनुसार स्वदेशी बोलपत्रदाताबीच मात्रै प्रतिस्पर्धा गराउनु पर्ने भएकाले विभागले उक्त बोलपत्रदाता अनुत्तीर्ण भएको निर्णय गरेको थियो । त्यसपछि विभाग र ठेकेदार कम्पनी बीचको विवाद अदालत पुगेको थियो । उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले २०७६ मंसिर ८ मा सुरुमा बोलपत्र दाखिला गरेको निवेदन समेतलाई समावेश गरी पुनः अर्को बोलपत्र प्रक्रिया अगाडि बढाउन सहरी विकास तथा भवन निर्माण विभागको नाममा परमादेश जारी गरेको थियो ।
त्यसपछि विभागले २०७६ फागुन १ मा पुनः अर्को बोलपत्र आह्वान गरेको थियो । तर दोस्रो पटकको बोलपत्र आह्वानमा पनि सुरुको निर्माण कम्पनीले बैंक भौचरमा नाम फरक परेको कागजात पेश गरेको भन्दै उक्त बोलपत्र विभागले फेरि बदर गरिदिएको थियो । त्यसपछि निर्माण कम्पनीहरुले बिभागबिरुद्ध सर्वोच्चमा उत्प्रेणयुक्त परमादेश मुद्दा दायर गरेका थिए । सोही मुद्दामा सर्वोच्चले निवेदक निर्माण कम्पनीहरुको दाबी नपुग्ने ठहर सोमबार गरेको हो । अस्पताल भवन निर्माण संघर्ष समितिका संयोजक डा निरज सिंहले लामो प्रतिक्षापछि यो विवादले अदालतबाटै निकास पाएपछि अब नयाँ टेण्डर आह्वान गरेर भवन निर्माण गर्ने बाटो खुलेको बताए ।
वीर अस्पतालपछि मोफसलकै जेठो अस्पतालको रुपमा रहेको नारायणी अस्पतालका भवन जीर्ण भएकाले बिरामीदेखि स्वास्थकर्मीलाई सास्ती भइरहेको छ । यो अपस्तालले पर्सादेखि सर्लाहीसम्म तथा सीमावर्ती भारतका बिरामीलाई समेत सेवा दिँदै आएको छ । मुद्दाको निकासका लागि अस्पतालका स्वास्थ्यकर्मी तथा नागरिक समाजले सातायता दबाबमूलक प्रदर्शन गर्दै आएका थिए । अभियन्ता प्रकाश थारु अब अस्पतालको नयाँ भवन निर्माणका लागि समय खर्च नगरेर प्राविधिक काम जति सक्दो छिटो सम्पन्न गरिनु पर्ने बताउँछन् । ‘निर्माण कम्पनीहरु र विभागको द्वन्द्वले अस्पतालले नयाँ भवन पाउन ५ वर्ष प्रतिक्षा गर्नुपर्यो,’ उनले भने, ‘अब कानुनी जटिलता समाप्त भएकाले सरोकारवाला कार्यालयले अधुरो अस्पताल भवन निर्माणका लागि अग्रसर हुनु जरुरी छ ।’
