धनुषा — विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले प्रहरीकै अगाडि प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहलाई गोली हान्ने धम्की दिएका छन् ।
शिक्षा सेवा आयोगबाट सिफारिस भइ आएकी शिक्षकलाई हाजिर गराउँदा नगरपालिका प्रमुखको छोरा राम भजन दासले कार्यकक्षमै कुटपिट गरेका प्रशासकीय अधिकृत साहलाई प्रमुख दासले गोली हान्ने धम्की दिएका हुन् । सोमबार शिक्षिकालाई हाजिर गराउँदा नगर प्रमुखको छोरा दासले कार्यकक्षमै गालीगलौज गरी कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका प्रमुख प्रशासकीय अधिकृत साहलाई मंगलबार नगर प्रमुख दासले कार्यकक्षमा बोलाएर अपशब्द प्रयोग गर्दै गोली हान्ने धम्की दिएका उनले बताए ।
'कार्यालयमा असुरक्षित भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट सुरक्षार्थ खटिएका प्रहरीकै अगाडि नगर प्रमुख दासले गोली हान्ने धम्की दिएको छ,' प्रशासकीय अधिकृत साहले भने,‘कुटपिट भएपछि कारबाहीको लागि प्रयास गर्दा नगर प्रमुखले गोली हान्ने धम्की दिएको हो ।’
नगर प्रमुखले धम्की दिएपछि जिल्ला प्रहरी र जिल्ला प्रशासनमा शान्ति सुरक्षा मागिएको छ । अधिकृत साह माघ २ गते विदेह नगरपालिकामा हाजिर भएर कार्यभार सम्हालेका थिए । कार्यालयमा आएदेखि नै धाकधम्की, अपशब्द, गालीगलौज गर्दै आएको साहले आरोप लगाए ।
