सिरहा — सिरहाको लहानस्थित मालपोत कार्यालयमा गाउँब्लक जग्गा फुकुवाको माग गर्दै स्थानीयहरू धर्नामा बसेका छन् ।
आइतबारदेखि नै चरणबद्ध आन्दोलन गर्दै आएका उनीहरू मंगलबार मालपोत कार्यालय परिसरमा धर्नामा बसेका हुन् ।
धर्नामा स्थानीयसँगै लहान नगरपालिकाका उपमेयर रामचलितर महतो, वडाध्यक्ष रमेश गौतमलगायत पनि छन् । यस्तै, लेखापढी व्यवसायीले पनि आन्दोलनमा ऐक्यबद्धता जनाउँदै कामकाज गर्न छाडेका छन् ।
जसका कारण मालपोत कार्यालयको कामकाज नै ठप्प हुन पुगेको छ । जग्गाको अध्यावधिकरण, नापी, लालपुर्जा वितरण, हक हस्तान्तरण, बिक्री र बैंक तथा वित्तीय संस्थामा राख्न मिल्ने गरी स्रेस्ता प्रयोग गर्न पाउने व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ ।
उनीहरूले केही दिन अगाडि मालपोत, नापी, इलाका प्रशासन र लहान नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । तर, आफूहरूको समस्यालाई कसैले गम्भीरतापूर्वक नलिएपछि आन्दोलन गर्न बाध्य भएको संघर्ष समितिका संयोजक अरुण केसीले बताए ।
