मुख्यमन्त्री सिंह भन्छन् - 'हतारमा काम गरेर अख्तियारको खोरमा जानु छैन' 

माघ २९, २०८१

विनय आजाद

Chief Minister Singh says - 'I will not go into the cage of authority by working in haste'

सिरहा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी रकम खर्च प्रक्रियागत ढंगले हुने बताएका छन् ।लहानमा मंगलबार आयोजित सगरमाथा चौधरी आँखा अस्पतालको ४२औं वार्षिकोत्सव कार्यक्रममा उनले हतारमा काम गर्दा कुनै गडबडी भए अख्तियाको खोरमा जानुपर्ने विषयमा जानकार भएरै प्रक्रियागत रुपमा काम गरिरहेको दाबी गरे । 

'सरकारी काम गर्ने र रकम खर्च गर्ने प्रक्रिया हुन्छ, त्यो प्रक्रियामा काम भइरहेको छ,' उनले भने, 'काम भएन, काम भएन मात्र भन्ने होइन, हतारमा काम गर्दा कुनै गडबडी भए अख्तियाको खोरमा जानुपर्छ भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ, हामीलाई त्यस्तो गर्नु छैन ।'

उनले मधेश सरकारले प्रक्रिया पूरा गरेर बजेट खर्च गर्ने बाटो खुलाइसकेको भन्दै अब खर्चको गति बढ्ने पनि दाबी गरे । आफूहरूले सबै निर्वाचन क्षेत्रलाई सम्बोधन गरेर बजेट बनाएको भन्दै उनले अब कार्यान्वयनमा जाने बताए ।

उनले हालै १९ अर्बभन्दा बढी रुपैयाँ बराबरको योजना ठेक्कामा गएको पनि जनाए । मधेशमा ४ वटा प्रादेशिक अस्पताल थप गर्न लागेको र सबै निर्वाचन क्षेत्रमा एउटा नमुना विद्यालय बनाउने गरी प्रदेश सरकार अघि बढेको उनले सुनाए । 

अघिल्लो सरकारले ११ हजार योजनालाई अधुरै छाडेको र उनीहरूले अहिले प्रदेश सरकारले बजेट खर्च गर्न नसकेको भनेर हल्ला चलाएको उनको आरोप छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully