सर्लाहीका ४७ जना उखु किसान सम्मानित

माघ २८, २०८१

रासस

47 sugarcane farmers of Sarlahi honored

सर्लाही — इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित उन्नत जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई सम्मान गरेको छ । 

उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार उखु उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरुलाई सम्मान गरिएको हो । 

सम्मानित किसान नगरपालिका–९, विष्णुपुर निवासी उखु किसान पवनदेवी शर्माले उद्योगबाट प्राप्त बीउको प्रयोगबाट उखु उत्पादन बढेको तथा आधुनिक प्रविधिको प्रयोगबाट लागत घट्नुका साथै प्रतिकठ्ठा ५० क्वीन्टलसम्म उत्पादन बढेको बताए

विगतमा प्रति कठ्ठा २० क्वीन्टल उत्पादन गर्न नसकेको खेतमा अहिले ६० क्वीन्टलसम्म उखु फलाएको अर्का किसान माधव थापाले बताए । उद्योगका अध्यक्ष राजेश केडियाले किसानलाई खेतीको गुणात्मक विकासमा जोड दिन आग्रह गरे । उनले स्थानीय, प्रदेश र संघ सरकारले उखु ‘जोन’ कायम गरिदिनुपर्नेमा जोड दिए । 

नगरपालिकाले उद्योगसँग मिलेर उखु किसानको लागि सिँचाइ, प्रविधि र उन्नत बीउविजन उपलब्ध गराउने योजनामा रहेको हरिवन नगरप्रमुख रमेश बुढाथोकीले जानकारी दिए । 

सर्लाहीमा हरेक वर्ष ६४ हजार हेक्टरमा उखु उत्पादन हुँदै आएको छ । जिल्लाको हरिवनमा इन्दुशङ्कर, धन्कौलमा अन्नपूर्ण र गोडैतामा महालक्ष्मी चिनी उद्योग सञ्चालित छन् ।

रासस

Link copied successfully