सिरहा — तीव्र गतिमा आइरहेको टिपरको हावाको झोँकाले उछिट्टिएका साइकलमा सवार एक बालक दुई महिनादेखि अस्पतालमा छन् ।
गत पुष १० गते स्थानीय बालक लोकेश श्रेष्ठ साइकलमा घर गइरहेका बेला सिमेन्ट उद्योगका लागि चुनढुंगा बोकेर तीव्र गतिमा आइरहेको टिपरको हावाको झोँकाले उछिट्टिएका थिए ।
राजमार्गमै लडेका लोकेशको मष्तिस्कमा गम्भीर चोट लागेको थियो । अहिले उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
यता स्थानीयले आन्दोलन थालेका छन् । मिर्चैया नगरपालिका-७, छघरेस्थित मिर्चैया-कटारी राजमार्ग आइतबार बिहानैदेखि उनीहरूले सडक अवरुद्ध पारेका हुन् ।
लोकेशको उपचारमा अहिलेसम्म पाँच लाख बढी खर्च भइसकेको छ। अस्पतालले अझ थप त्यति नै रकम मागेको उपचाररत लोकेशका बुबा रनबहादुर श्रेष्ठले बताए ।
आफ्नो आर्थिक स्थिति कमजोर भएकाले उपचारमा समस्या भइरहेको उनको भनाइ छ । उक्त घटनामा संलग्न टिपरको खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।
तर अहिलेसम्म प्रहरीले टिपर र चालक खोज्न चासो नदिएको भन्दै आन्दोलन थालेको उनले बताए । यस राजमार्गमा दैनिक एक हजारभन्दा बढी टिपर चुनढुंगा बोकेर आउजाउ गर्छन् ।
भारी सामग्री बोकेर आउने टिपरको गति अनियन्त्रित हुने भएकाले स्थानीयलाई राजमार्गमा जोखिम बढेको स्थानीयको भनाइ छ । स्थानीयले लोकेशको घटनामा संलग्न टिपर र चालक खोज्नका लागि दबाब दिन आन्दोलन थालेको बताएका छन् ।
