सिरहाका मेयरको गुनासो : मेरै बुवाका हत्यारालाई कारबाही गर्न पार्टीले ध्यान दिएन

माघ २०, २०८१

विनय आजाद

Complaint of the mayor of Siraha: The party did not pay attention to punish the murderer of my father

सिरहा — सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवले आफ्ना सहिद बुवाको न्यायका लागि आफ्नै पार्टीले ध्यान नदिएको गुनासो गरेका छन् । नेकपा एमाले, सिरहाले आइतबार सदरमुकाममा आयोजना गरेको २१औं स्मृति सभामा उनले यस्तो गुनासो गरेका हुन् ।

आफ्नो पार्टी एमाले पटक-पटक सरकारमा गए पनि आफ्ना बुवा हेमनारायण यादवको हत्या घटनाका दोषीलाई कारबाही हुने भनेर सधैं आश्वासन मात्रै पाउने गरेको उनको गुनासो छ । अहिलेसम्म पनि न्याय नपाउँदा आफ्नो परिवार थप मर्माहत बनेको उनले बताए ।

'बुवाको हत्यापछि विगतमा एमालेका नेताहरूले जे वाचा गर्नुभएको थियो, घटनाको २१ वर्ष भए पनि त्यो अहिलेसम्म पूरा भएन,' उनले भने, 'एक सहिद परिवारको हिसाबले यसप्रति म दुःख व्यक्त गर्न चाहन्छु, म निराश भएँ ।'

प्रदेशदेखि केन्द्रसम्म एमालेकै सरकार भए पनि दोषीलाई किन कारबाही हुन सकेको छैन भनेर उनले एमालेका केन्द्रीय नेताहरूलाई प्रश्नसमेत गरेका थिए ।

मेयर यादवका पिता हेमनारायण यादवको २०६१ माघ १९ गते अपहरण गरी हत्या गरिएको थियो । उनी २०५६ सालमा सिरहाबाट सांसद निर्वाचित भएका थिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully