सिरहामा रातारात वन मासेर ग्राभेल उत्खनन

माघ १९, २०८१

विनय आजाद

Overnight Forest Masser Gravel Excavation in Siraha

सिरहा — सिरहामा रातारात वन मासेर ग्राभेल उत्खनन गरिएको छ । सिरहाको गोलबजार नगरपालिका-१० स्थित चुरे चौफाल सातपत्रे सामुदायिक वनबाट ग्राभेल उत्खनन गरिएको हो । संघीय सरकारको बजेटमा धर्मपुर-चोहर्वा-देवीपुर-विष्णुपुर २० किलोमिटर सडकको निर्माण कार्य गरिरहेको ब्रदर्श कन्स्ट्रक्सनले शुक्रबार राति वनमा उत्खनन गरेको खुलेको छ ।

स्थानीय भीमबहादुर थापाका अनुसार रातिको समयमा ठेकेदार कम्पनीले जीसेबी लगाएर वनका करिब ७० वटा सालका रूख ढालेर त्यहाँबाट ग्राभेल उत्खनन गरेको हो । यसमा वन समिति, वन कार्यालय, जनप्रतिनिधिदेखि प्रशासनसम्मको मिलेमतो रहेको उनको आरोप छ ।

'यो त डकैती हो, सबैको मिलेमतोबिना यो सम्भव हुँदैन,' उनले कान्तिपुरसित भने, 'हामीले समिति, मेयर, प्रहरी प्रशासन सबैलाई गुहार्यौं, तर कसैले नसुन्नुले उनीहरूको मिलेमतो पुष्टि हुन्छ ।' 

स्थानीयले ग्राभेल उत्खनन गरिरहेको एउटा जेसीबी पनि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साहको अनुसार उक्त जेसीबी अहिले प्रहरी नियन्त्रणमा छ र आवश्यक कारबाहीका लागि गोलबजार नगरपालिकालाई बुझाउने तयारी छ ।Overnight Forest Masser Gravel Excavation in Siraha

सबैको मिलेमतोमै वन मासेर ग्राभेल उत्खनन गर्ने काम भएको भन्दै अबदेखि खन्न नदिन र दोषीलाई कारबाही गर्न स्थानीयहरूले वडा नम्बर १० को वडा कार्यालयमा सामूहिक उजुरी पनि गरेका छन् । 

स्थानीयले दिएको उजुरीका आधारमा आफूले कारबाही र उत्खननमा रोक लगाउनका लागि सम्बन्धित निकायहरूलाई वडाबाट पत्र पठाएको वडाध्यक्ष उपेन्द्र मुखियाले जानकारी दिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully