सिराहा — कारागार व्यवस्थापन विभागले सिरहा कारागार घटनाको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएको छ । विभागले जिल्ला प्रशासन कार्यालय सिरहालाई यस्तो निर्देशन दिएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई प्रतिवेदन कार्यान्वयन गर्न र विभागलाई पनि पठाउन बुधबार भनिएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
'मैले बुधबार फोन गरेर प्रतिवेदन कार्यान्वयन गर्न र हामीलाई पनि पठाउन भनेको छु,' भट्टराईले कान्तिपुरसित भने, 'अब चाँडै यो कार्यान्वयनमा जान्छ, हामी ढिला गर्दैनौँ, विश्वास गर्नुस् ।'
यस्तै भट्टराईले प्रतिवेदन जस्ताको त्यस्तै सार्वजनिक नहुने र यसको मुख्य विषयहरू मात्रै सार्वजनिक गरिने पनि बताएका छन् । 'कारागारभित्रको सबै कुरा सार्वजनिक गर्न मिल्दैन,' उनले भने, 'मुख्य कुरा हामी तपाईँहरूलाई दिन्छौँ ।'
सिरहा कारागार घटनाको छानबिनका लागि गठित नेपाल प्रहरीका डीएसपी नेतृत्वको समितिले एक महिनाअघि नै प्रतिवेदन बुझाए पनि सिरहा प्रशासन नै घटनाको ढाकछोपमा लागेको भन्ने कान्तिपुरको समाचारपछि विभागबाट यो निर्देशन आएको हो ।
