दुई छोरीद्वारा आफन्तकहाँ शरण लिँदै आमाको किरिया

माघ ९, २०८१

सुनिता बराल

Mother's kiriya by two daughters seeking refuge with relatives

महोत्तरी — विगत ६ वर्षदेखि कलेजो रोगबाट पीडित धर्मशिला फुँयालको गत माघ ४ गते निधन भएपछि अहिले उनको परिवार विचलित भएको छ । रानीवास सिन्धुलीबाट पुर्ख्यौली बसोबास छाडेर भारत सिक्किमको नाम्चेमा जीवनयापन गर्दै आएका धर्मशिलाका श्रीमान् राम फुँयाल र उनका दुई छोरी आमाको मृत्युपछि शरण लिन महोत्तरीको बर्दिवास आइपुगेका हुन् ।

धर्मशिलालाई बचाउने प्रत्यत्न गर्दागर्दै जायजेथा सकिएको भन्दै बुबा रामसँग बर्दिवास आफन्तकहाँ आइपुगेका दुई किशोरी शरण लिएकै घरमा आमाको काजकिरियामा बसेका हुन्  । हिन्दु धर्मशास्त्रअनुसार आमाको मृत्युपछि  १० वर्षकी बालिका आरध्या फुँयाल र १६ वर्षकी अमिस्का १३ दिने काजकिरियामा बसेका हुन् ।  

'आमाको इच्छा थियो उहाँको काजकिरिया हामीले नै गरूम् भन्ने,' अमिस्काले भनिन्, 'तर हामीलाई काममा नबस्न धेरैले अनुरोध गरेका थिए, हामी आफ्नै इच्छाले किरियामा बसेका हौं ।'

छोराहरू जसरी नै कपाल काट्ने आफ्नो इच्छा हुँदाहुँदै पनि सबैले गाली गरेपछि काट्न नपाएको अमिस्काले बताइन् । 'छोरीले काजकिरिया गर्ने भनेपछि सबैले अनौठो ठान्नुभयो,' उनले भनिन्, 'झन पुरोहितले त छोरीहरू किरियामा बस्ने भनेपछि कर्मकाण्डमै साथ नदिएको नमिठो अनुभव पनि पाइयो ।' 

बर्दिवास-१ स्थित बरगाछी टोलमा रामका आफन्तको घरमा नियमित कर्मकाण्डमा आउने पुरोहितले छोरीहरू किरियामा बसेको भन्दै कर्मकाण्ड नै नगर्ने बताएपछि आफूले नयाँ पुरोहित खोजिदिएको छिमेकी राधा न्यौपानेले बताइन् । 

छिमेकीहरुले समेत छोरीलाई काजकिरियामा राख्न हुन्न भन्दै सल्लाह दिएका भए पनि छोरीहरुले आफ्नो आमाको कर्म आफैं गर्ने भनेर जिद्दी गरेपछि विधिपूर्वक छोरीहरुलाई नै मृत्यु कर्ममा राखेको मृतककी देउरानी (किशोरीका काकी) टीका फुँयालले बताइन्  । छोरीहरुलाई सहयोग र पिण्ड पकाइदिने काम आफैंले गरिरहेको उनले बताइन् । 

एकातर्फ आमाको मृत्यु र अर्कोतर्फ मृत्युको कर्मकाण्डमा बस्दा खेप्नुपरेको विरोधले निकै दु:ख लागिरहेको किशोरीले बताए । 

बुबा राम फुँयालले भने अब काजकिरियापछि छोरीहरूको लालनपालन र उनीहरूलाई कसरी शिक्षा दिलाउने भन्ने चिन्तामा रहेको बताए । 

जीवनमा कमाएको सबै जायजेथा सकेर चन्दा संकलन गर्दै र ऋण लिएर पनि श्रीमती बचाउन नसकेपछि अब आफूसँग ऋण र पीडाबाहेक केही बाँकी नरहेको रामले बताए । श्रीमतीको उपचारमा भएभरको घरघडेरीसहित झण्डै ७० लाख रुपैयाँ खर्च गरेको उनले सुनाए ।

सुनिता बराल बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully