सिरहा — मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोसहितका सहिदहरूको सालिकमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले माल्यार्पण गरेका छन् ।
लहानस्थित सहिद चोकमा रहेको सालिकमा यादवले शनिबार बिहान माल्यार्पण गरेका हुन् । उनीसँगै जसपा उपाध्यक्ष राजकिशोर यादव, सचिव सुरेश मण्डललगायतका नेताहरूले पनि माल्यार्पण गरे ।
महतो मधेश आन्दोलनका प्रथम सहिद हुन् । आन्दोलनका क्रममा २०६३ माघ ५ गते प्रहरीको गोली लागेर उनको मृत्यु भएको थियो । यससँगै आन्दोलन चर्किएको थियो ।
त्यसयता प्रत्येक वर्ष माघ ५ गतेलाई जसपासहित मधेश केन्द्रित दलहरूले बलिदान दिवसका रूपमा मनाउने गरेको छ । आजको दिन ती दलहरूले विभिन्न कार्यक्रम पनि आयोजना गरेका छन् ।
