दासत्वको जीवनबाट मुक्ति पाउन लड्नुको विकल्प छैन : उपेन्द्र यादव

माघ ५, २०८१

कान्तिपुर संवाददाता

There is no choice but to fight to be freed from the life of slavery: Upendra Yadav

सिरहा — माघ ५ अर्थात् आजकै दिन २०६३ सालमा मधेश आन्दोलनका क्रममा पहिलोपटक सिरहाको लहानमा रमेश महतोको माओवादी कार्यकर्ताको गोली लागी ज्यान गएको थियो । त्यसपछि मधेशभर आन्दोलन चर्कियो । त्यसयता आजको दिनलाई मधेश केन्द्रित दलहरूले बलिदानी दिवसका रूपमा मनाउँदै आएका छन् । यसै विषयमा केन्द्रित रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग कान्तिपुरका विनय आजादले गरेको कुराकानी  :

आजको दिनलाई कसरी सम्झिनुहुन्छ ?

आजको दिन त्याग, संघर्ष, बलिदान र वीर सपुतहरूलाई सम्झिने दिन हो । आजको दिन शोषित-पीडित जनताको मुक्तिका लागि, दासत्वको जीवनबाट मुक्ति पाउनका लागि वीर सपुतहरूले बाँच्नुभन्दा आफूलाई बलिदान गरेर जुन बाटो देखाइदिनुभयो, त्यसलाई सम्झिने दिन हो । उहाँहरूलाई सम्झिँदै मुक्तिका लागि हामी लड्नुपर्छ, त्यसको विकल्प छैन ।

मधेश आन्दोलनका सहिदहरूका जे सपना थिए, त्यो पूरा भएन, तपाईंहरू सत्तालिप्सामा लाग्नुभयो भन्ने आरोप छ नि, के भन्नुहुन्छ ?

यो गलत कुरा हो । प्रतिशोधपूर्ण आरोप हो । मधेशीहरूले अवसर पाएको कुरा शासकहरूलाई पचिरहेको छैन । त्यसैले संकीर्ण अनि नश्लीय सोंच र चिन्तन भएकाहरूले यस्तो गलत भाष्य बनाएका हुन् । मुलुकमा सधैंभरि रजगज गर्ने उनीहरू हुन् । हामी अझै संघर्षको बाटोमा छौं । आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्ने र बाँकी रहेका अधिकार, सामाजिक न्याय, समानता, स्वतन्त्रता, हक अधिकारका लागि एकताबद्ध भएर संघर्ष गर्ने दिशामा अगाडि बढिरहेका छौं ।

मधेश मुद्दाका विषयमा राजनीति गर्ने दलहरूको बीचमा जुन मोर्चाबन्दी गर्ने कुरा भइरहेको छ, त्यसबारे के भन्नुहुन्छ ?

पहिलो कुरा त तपाईंको शब्दप्रति नै मेरो आपत्ति छ । के आपत्ति छ भने यो मधेशको मुद्दा मात्र होइन, यो राष्ट्रिय मुद्दा हो । मधेश एउटा राष्ट्र हो । यो देशमा धेरै राष्ट्रियताहरू छन्, त्यसमध्ये एउटा मधेश पनि हो । राष्ट्रिय समस्याहरू समाधान गर्न, शोषित पीडित जनतालाई न्याय दिलाउनका लागि परिवर्तनकारी शक्तिहरू एक ठाउँ आउनुपर्छ । एकताबद्ध हुनुपर्छ । संघर्षमा लाग्नुको विकल्प छैन । त्यसकारण जे जति प्रयासहरू भइरहेका छन्, त्यसलाई निरन्तरता दिँदै परिणाममा पुर्‍याउन आवश्यक छ ।

समाजवादी मोर्चाप्रति तपाईंको धारणा ?

समाजवादी मोर्चाको निर्माणमा मेरो महत्त्वपूर्ण भूमिका थियो । यसको घोषणापत्रदेखि नीति निर्माणलगायतका काममा सहभागी भइयो, गरियो । मोर्चाकै माध्यमबाट पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुभयो । तर, प्रधानमन्त्री बनिसकेपछि उहाँले मोर्चाभित्रै रहेका आफ्नै सहयोगीलाई विश्वासघात मात्रै गर्नुभएन, पिठ्युँमा छुरा रोप्नुभयो । अब भन्नूस्, कसरी सहकार्य हुन सक्छ ? राज्यको स्रोतसाधन प्रयोग गरेर नेता किन्ने, पार्टी फोड्नेहरूसँग कसरी सहकार्य गर्ने ? समाजवादी मोर्चामा अहिलेको अवस्थामा जसपा नेपालले सहकार्य गर्न सक्दैन ।

कान्तिपुर संवाददाता

Link copied successfully