बर्दिवासमा विपद् व्यवस्थापन प्रतिकार्य अभ्यास

माघ ३, २०८१

सुनिता बराल

Disaster Management Response Exercise in Bardiwas

महोत्तरी — महोत्तरीमा सशस्त्र प्रहरीले विपद् व्यवस्थापनसम्बन्धी प्रतिकार्यको नमुना कृत्रिम अभ्यास प्रदर्शन गरेको छ । २७ औं भूकम्प सुरक्षा दिवसको सन्दर्भमा नमुना कृत्रिम अभ्यासको सेमुलेसन कार्यक्रम आयोजना गरेको सशस्त्र प्रहरीको छिन्नमस्त बाहिनीले जनाएको छ । 

अभ्यासमा भूकम्पपश्चात् तालिमप्राप्त सुरक्षाकर्मीहरुले छिटो र छरितो रुपमा उद्धार कार्य कसरी गर्न सकिन्छ भन्ने देखाएका छन् । बर्दिवास नगरपालिका-४ स्थित माध्यमिक विद्यालय कामीडाँडाको प्रांगणमा देखाइएको विपद् व्यवस्थापन अभ्यास सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नं. ३९ रिजर्भ गण हे.क्वा. महोत्तरीको संयुक्त आयोजनामा भएको सशस्त्र प्रहरीले जनाएको छ । 

विपद् व्यवस्थापन अभ्यास कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका गृह, सञ्चार र तथा कानुनमन्त्री राजकुमार लेखीको विपत् व्यवस्थापनसम्बन्धी सशस्त्र प्रहरीले गरेको नमुना अभ्यास निकै महत्त्वपूर्ण रहेको बताए । विपत् पूर्वतयारीका लागि यस्ता अभ्यास आममानिसलाई देखाउन र तयारीका लागि सुरक्षाकर्मीलाई समेत सक्षम बनाउन जरुरी रहेको मन्त्री लेखीले बताए । 

Disaster Management Response Exercise in Bardiwas

महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सीमित स्रोत र साधनका बीच कसरी प्रभावकारी तयारी गर्न सकिन्छ भन्ने विषयमा योजना बनाएर विपद् पूर्वतयारी गर्नपर्ने बताए । विपद् प्राधिकरण गठन गर्न सके विपद् पूर्वतयारीका लागि निकै महत्त्वपूर्ण कदम हुने हुनको तर्क थियो । स्थानीय तह र सुरक्षा निकायलाई अझ सबल र सक्षम बनाउँदै विपत् उद्धार सामग्रीहरू प्रदान गर्ने र विद्यालयस्तरमा विपत् उद्धारका पूर्वतयारी अभ्यासहरू बढीभन्दा बढी देखाएर समुदायलाई नै बलियो बनाई क्षति न्यूनीकरण गर्न सकिने कवारीले बताए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले नेपाल विपतको दृष्टिकोणबाट जोखिमपूर्ण रहेको उल्लेख गर्दै पूर्वतयारीलाई व्यापक बनाउने उद्देश्यले विद्यालयस्तरमै अभ्यास कार्यक्रम आयोजना गरेको बताए  । सचेतनाका अभ्यास देखाउने र प्रतिकार्यका लागि सबैलाई सक्षम बनाउन सके क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो । 

सशस्त्र प्रहरीले कार्यक्रम स्थलमा फरक-फरक प्रकृतिका विपत् व्यवस्थापनमा प्रयोग हुने उपकरण तथा औजारहरूको समेत प्रदर्शन गरेको थियो ।

सुनिता बराल बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully