सिरहा — मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग नबन्दा सास्ती खेप्दै आएका मिर्चैयाका बासिन्दा पुनः आन्दोलनमा उत्रिएका छन् । यहाँका स्थानीयहरू राजमार्गमा चक्काजाम गर्दै बुधबारदेखि फेरि आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीयहरूले मिर्चैयास्थित कटारी चोकमा आज बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म चक्काजाम गरे । राजमार्ग निर्माणको अघि नबढेसम्म निरन्तर रूपमा चक्काजाम गर्दै आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् ।
राजमार्ग निर्माणका लागि यसअघि पनि पटकपटक उनीहरूले आन्दोलन गरिसकेका छन् । तर, आन्दोलन चर्किएपछि सरकारी पक्षले वार्ता तथा सहमति गराउने र त्यसको कार्यान्वयनमा ध्यान नदिँदा पटक-पटकको आन्दोलनपछि पनि राजमार्ग बन्न नसकेको भन्दै फेरि आन्दोलनमा उत्रिनुपरेको स्थानीय अशोककुमार साहले बताए ।
लामो समयसम्म पनि राजमार्ग नबन्दा यहाँको व्यापार व्यवसाय ध्वस्त भएको तथा धुवाँधुलोले यहाँका स्थानीय विभिन्न रोगको सिकार भइरहेको साहको गुनासो छ । ‘विगतमा पटक-पटक आन्दोलन गरेपनि हामीलाई ठग्ने काम मात्रै भयो,’ साहले भने, ‘यसपालिको यो आन्दोलन वारपारको हो ।’
सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८६.८२ किलोमिटर चारलेन राजमार्ग निर्माणको काम २०७७ सालदेखि नै भइरहेको छ । चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुपले २०७७ कात्तिक १३ मै १५ अर्ब ६६ करोड रुपैयाँमा निर्माणको ठेक्का पाएको थियो ।
सरकारसँग भएको सम्झौताअनुसार २०८० कात्तिक ११ भित्र निर्माण सकिसक्नुपर्ने हो । तर, समयमै काम नसकिएपछि सरकारले २०८१ पुस १० सम्मका लागि म्याद थपिदिएको थियो ।
यो अवधिसमेत समाप्त भएपनि ५५ प्रतिशत मात्रै काम गरेको यो निर्माण कम्पनीलाई सरकारले फेरि २०८२ पुस १६ सम्मको म्याद थपिदिएको छ । तर, निकै सुस्त गतिमा निर्माणको काम गरिरहेको निर्माण कम्पनीले राजमार्ग निर्माण गर्ने भन्दै ३ वर्षअघि नै जताततै खनेर अलपत्र छाडेपछि यस सडकखण्डमा मिर्चैया सबैभन्दा बढी प्रभावित रहँदै आएको छ ।
