वीरगन्ज — पर्साको सखुवाप्रसौनी गाउँपालिका-२ जमुनियामा ह्युमपाइप राख्न खनिएको सडकको खाल्डोमा मंगलबार राति मोटरसाइकल खस्दा एक युवकको मृत्यु भएको छ । अर्का युवक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा जमुनिया निवासी २३ वर्षीय सुदर्शन चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका अनुसार जमुनियाको कर्बोला चौकको सडकमा ह्युम पाइप राख्नका लागि खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटना भएको हो ।
मंगलबार राति ९ बजेको समयमा पथरैयाबाट पँचगाव जाने क्रममा ना.२८ प ३८१९ नम्बरको मोटरसाइकलमा सवार दुई जना मोटरसाइकल सहित खाल्डोमा खसेका थिए । मोटरसाइकलमा पछाडि बसेका सुर्दशन चौधरीको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक जमुनियाकै २४ वर्षीय दिपेन्द्र चौधरीको अस्पतालमा उपचार भइहरेको प्रहरी निरीक्षक प्रकाश थापाले जनाएका छन् । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
