रौतहट — रौतहटको परोहा नगरपालीका–२ तेजापाकडका ३० वर्षीय हिरामन महतोलाई अपहरण गरेको आरोपमा प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ । उनीविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
जिल्लाको माधवनारायण नगरपालिका–६ स्थित माधोपुरबाट २०८० वैशाख ९ गते साँझ ७ बजे महतोलाई अपहरण गरी भारतमा लगेर शरीर बन्धक बनाई परिवारसँग टेलिफोनमार्फत ४ लाख फिरौती माग गरेको आरोपमा भारत विहार जिल्ला सितामाढी बसबिट्टाका २२ वर्षीय सुधीर कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिए ।
अपहरणपछि फरार कोइरी छिमेकी सर्लाहीको सिमावर्ती ईलाकामा लुकेर आउने जाने गरेको अवस्थामा सर्लाही प्रहरीको सहयोगमा पक्राउ गरेको प्रनि गुप्ताले बताए । अपहरण गरेर भारत लगेपछि परिवारका सदस्यसित कोइरीले फिरौती रकम माग गरेका थिए । सुरक्षाकर्मीले उद्धार गरेर ल्याएपछि कोइरीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको थियो ।
