अपहृत बालकको सर्लाहीबाट उद्धार

दुई नेपालीसहित एक भारतीय पक्राउ

पुस २९, २०८१

ओमप्रकाश ठाकुर

Kidnapped child rescued from Sarlahi

सर्लाही — अपहरणमा परेका १५ वर्षीय एक बालकको सर्लाही प्रहरीले सीमावर्ती गाउँबाट सकुशल उद्धार गरेको छ ।

अपहरणमा संलग्न दुई नेपालीसहित एक भारतीयलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट हतियारसमेत बरामद भएको छ । 

सर्लाहीको सीमावर्ती गाउँ ब्रह्मपुरी गाउँपालिका–४ स्थित रामजी साह बस्ने घरमा भारतका १५ वर्षका एक बालकलाई अपहरण गरी बन्धक बनाई राखिएको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको हो ।

बालकलाई उद्धार गर्ने क्रममा अपहरण आरोपमा घरमूली ६८ वर्षीय साहसहित सोही ठाउँका १९ वर्षीय विक्रम पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै अपहरणको मुख्य आरोपी भारत विहार राज्य सीतामढी जिल्ला राजवडा ग्राम पञ्चायत मुसहर्निया टोलका २७ वर्षीय प्रवचन साहलाई पनि नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार अपहृत बालकको उद्धार गरिएको स्थानबाट कटुवा पेस्तोल १ थान, दुई राउण्ड गोली, मोबाइल १ थान, धारिलो चक्कु १ थान, हथौडा १ थान र बीआर०६बीटी २८५० भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको छ । 

पक्राउ परेका तीनै जनालाई अपहरण, शरीर बन्धक तथा हातहतियार खरखजानासम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ओमप्रकाश

Link copied successfully