वन्यजन्तुले किसान हैरान

पुस २८, २०८१

शिव पुरी

Farmers are disturbed by wild animals

रौतहट — एक सातादेखि रौतहटको दक्षिणी भेगमा नीलगाई र उत्तरी भेगमा जंगली हात्तीले किसानको बालीमा क्षति पुर्‍याउँदा यहाँका किसान हैरान बनेका छन् ।

बौधीमाई नगरपालिकाको इनर्वा र देवाही गोनाहीको देवाही बजारको दक्षिणका किसानले लगाएको गहुँ र दलहन–तेलहन बालीमा नीलगाईले क्षति पुर्‍याउँदा किसान हैरानी खेप्न बाध्य भएका हुन् । 

‘यसबारेमा स्थानीय प्रशासनलाई जानकारी गराइसकेका छौं,’ इनर्वाका किसान सरोज साहले भने, ‘यस क्षेत्रमा बर्सेनि नीलगाईले दुःख दिँदा हैरान भएका छौं ।’ 

नदी छेउको खरघारीभित्र नीलगाई, बँदेल लगायत जनावर आएर बस्ने गर्छन् । यहाँको कटहरिया, देबाही, लालबकैया, विजयपुर, मौलापुर लगायतका किसानको नदी किनारमा खेत छ । यो क्षेत्रमा वन्यजन्तुले दुःख दिन थालेको पाँच वर्ष बढी भइसकेको साहले सुनाए । आफूहरूको मकै, धान, उखु, आलु, गहुँ, केरा, धनिया लगायत बालीमा वन्यजन्तुले क्षति पुर्‍याउँदै आएको उनले बताए ।

बुनियाद, भसेढवा, लक्ष्मीनिया, गमहरिया, मर्यादपुर, कर्कचकर्मैया, टिकुलिया इनरवारी लगायत गाउँमा वन्यजन्तुले बाली खाइदिने गरेको स्थानीयले बताए । तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले वन्यजन्तुले किसानको बाली नष्ट गर्न थालेपछि राष्ट्रिय निकुञ्ज र विभागमा जानकारी गराएका थिए । गत वर्ष बाली खाएर हैरान पारेपछि स्थानीयले घेरा हालेर नीलगाई मारेको बताइएको छ । 

लालबकैया नदीको दुवै किनारमा रहेका खरघारी र उखुबारीको आडमा लुकेर ठूलो संख्यामा नीलगाई र बँदेल बस्छन् । दिउँसो बाहिर निस्केर बालीमा चर्छन् । स्थानीयहरू वन्यजन्तुबाट बाली जोगाउन खेतनजिक र नदी छेउमा मचान बनाएर बस्न थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले वन्यजन्तुले गरेको बालनालीको क्षतिबारे गाउँका किसानसित यथार्थ बुझ्ने प्रयास गरिरहेको बताए । यता चन्द्रपुर नगरपालिका क्षेत्रमा पनि एक सातादेखि जंगली हात्तीले स्थानीयको केराखेती र घरमा क्षति पुर्‍याएको छ ।

डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहले हात्ती नियन्त्रणमा लिन निकुञ्जसित समन्वय गरिरहेको बताए । वनले नगरपालिकासित हात्ती भगाउने सामग्री सहयोग गर्न पत्राचार पनि गरेको उनले बताए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully