वीरगन्ज — काटेर थुपारिएको धानबालीमा गरिएको आगजनी घटनाको प्रहरीले अझै दोषी पत्ता लगाउन सकेको छैन । गत पुस ६ मा वीरगन्ज महानगरपालिका– २२ जगरनाथपुर निवासी हरेन्द्र यादवको साढे तीन बिघा खेतमा उब्जिएको धान काटेर थुपारिएको अवस्थामा राति नचिनेका मान्छेहरूको समूहले अगाजनी गरेका थिए । आगजनी भएको २५औँ दिनसम्ममा पनि पर्सा प्रहरीले घटना सुल्झाउन सकेको छैन ।
पीडित किसानले ५ जना व्यक्तिमाथि शंका लागेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका छन् । प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार अहिले नै ठ्याक्कै यही व्यक्ति हो भन्ने अवस्था छैन । ‘अनुसन्धान जारी नै रहेको छ,’ पर्सा प्रहरी प्रवक्ता लम्सालले भने, ‘पीडितले केही व्यक्तिमाथि शंका लागेर अनुसन्धानका लागि जाहेरी दिएका छन् । उनीहरूको संलग्नता सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’
हरेन्द्रका अनुसार डिजेल वा पेट्रोल छर्केर करिब २१० क्विन्टल धानमा आगजनी गरिएको छ । झन्डै साढे ७ लाख रुपैयाँ मूल्यबराबरको धान आगजनीमा नष्ट भएको उनले बताए । प्रहरीको फितलो अनुसन्धानका कारण तीन हप्ता बितिसक्दा पनि दोषी पक्राउ नपरेको उनको आरोप छ । ‘साढे १२ बजे स्थानीयले खबर गरेपछि धानबालीमा आगजनी भएको थाहा भएको थियो,’ उनले भने, ‘खेतमा पुगेर प्रहरीलाई खबर गरेका थियौँ । तीनवटा दमकलको सहयोग बिहान करिब ३ बजेतिर आगो निभाइएको थियो ।’
राजनीतिक प्रतिशोध साध्न धानबालीमा आगजनी गरिएको उनले आरोप लगाएका छन् । पुस ६ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम राखिएको थियो । पार्टीको अभिमुखीकरण कार्यक्रमका लागि हरेन्द्रले आफ्नो जग्गा उपलब्ध गराएका थिए । जसपा नेपालबाट अलग भएर बनेको जसपा पार्टीका कार्यकर्ताले कार्यक्रमका लागि जग्गा उपलब्ध नगराउन धम्की दिएको उनको दाबी छ ।
