जनकपुर — बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष र कर्मचारीबीच विवाद चुलिँदा त्यहाँको काम ठप्प छ । कर्मचारीहरूले अध्यक्ष शीतल साहलाई ‘निषेध’ गर्दै उद्देश्यअनुसार काम गर्न नसकेको भन्दै परिषद् विघटनको माग गरेका छन् । अध्यक्ष साहले भने कर्मचारीकै असहयोगका कारण परिषद् बन्धक बनेको दाबी गरेका छन् ।
अध्यक्ष साहले कर्मचारीहरू विगतदेखि नै अनियमिततामा लिप्त रहेको र उनीहरूले गरेको अनियमित कामबारे सोधीखोजी गर्दा आफूलाई असहयोग गरेको आरोप लगाए । तर, कर्मचारीहरूले अध्यक्ष साह परिषद्को कार्यक्षेत्र बाहिर गएर राजनीति गरिरहेको दाबी गर्छन् ।
कर्मचारीहरूमा काम नगर्ने प्रवृत्ति, अध्यक्ष र कर्मचारीबीच मनमुटाव र कार्यकारी निर्देशन रिक्त रहँदा परिषद् बेकामे बनेको छ । वार्षिक ३ करोड रुपैयाँ बजेट परिचालन गर्ने परिषद्को बेरुजु रकम नै १३ करोडभन्दा बढी छ ।
साह परिषद्को अध्यक्षमा नियुक्त भएलगत्तै तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरलाई स्पष्टीकरण सोधेका थिए । ठाकुरले जवाफ दिनुको साटो नियतवश हटाउन खोजेको भन्दै मुद्दा हालेपछि अदालतले तत्काललाई कारबाही रोक्न आदेश दिएको थियो । ०७६ कात्तिक १४ गते दोलखाको बिगु–७ का जेन्डिल शेर्पाले बा१३च २०३७ नम्बरको जिप परिषद्लाई दान दिएका थिए ।
अध्यक्ष साहका अनुसार उक्त जिप तत्कालीन कार्यकारी निर्देशक ठाकुरले आफ्नी श्रीमती इन्दुलेखा ठाकुरका नाममा नामसारी गराएर पछि करारका चालकका नाममा सारेका थिए । ‘०७८ साउन ५ गते परिषद्लाई दान दिइएको जिप परिषद्का सवारी चालक धनीराम मण्डलका नाममा नामसारी गरियो,’ अध्यक्ष साहले भने, ‘त्यही जिप प्रयोग गरिएको भन्दै विभिन्न मितिमा भाडा, मर्मत र इन्धनबापत परिषद्बाट ४५ लाख रुपैयाँ खर्च लिइएको छ । यही प्रमाणमाथि टेकेर ठाकुरलाई स्पष्टीकरण सोधेको थिएँ ।’
सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा परिषद्का तत्कालीन कार्यकारी निर्देशक ठाकुरविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा २०८१ भदौ ४ गते उजुरी परेको थियो । अदालतले उनीविरुद्ध असोज १३ गते पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि ठाकुर फरार छन् ।
कार्यकारी निर्देशक ठाकुरलाई स्पष्टीकरण सोधेदेखि नै अध्यक्ष साह र कर्मचारीबीच सम्बन्ध बिग्रेको हो । ‘अध्यक्ष नियुक्त भएपछि परिषद्लाई राम्रोसँग अगाडि बढाएर काम गर्ने मुडमा छु,’ अध्यक्ष साहले भने, ‘कर्मचारीले सुरुदेखि नै असहयोग देखाए । मैले पनि उनीहरूले विगतमा गरेका अनियमितता खोज्न थाले । धेरै प्रमाण जुटाएको छु । बदमासी गर्नेलाई परिषद्मा ठाउँ छैन ।’
०८० कात्तिक २ गते परिषद्का कर्मचारीहरूले ११ बुँदे माग राख्दै अध्यक्ष साहलाई पदबाट हटाउन नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । अध्यक्ष भएदेखि साहले परिषद्लाई क्षति पुर्याएको, अनियमितताको अखडा बनाउन खोजेको र कर्मचारीमाथि अनावश्यक दबाब दिएको भन्दै कर्मचारीले ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा तलब–भत्तालगायतका सेवा–सुविधामा पनि अध्यक्ष साहले अवरोध गरेकाले उनलाई कार्यालय प्रवेशमा रोकसमेत लगाएको उल्लेख गर्दै यही स्थितिमा परिषद्को औचित्य नरहेको भन्दै खारेजको माग पनि गरेका थिए । अध्यक्ष साहले पत्रकार सम्मेलन नै गरेर कार्यालय आउँदा कर्मचारीको समूहले आफूमाथि आक्रमण गर्न खोजेको आरोप लगाएका थिए ।
‘परिषद्को कुनै सेवासुविधा नलिई काम गरिरहेको छु,’ साहले भने, ‘राम्रो गरौं भनेर म आएको हुँ । निराधार आरोप लगाउने, कार्यालय आउँदा अवरोध गर्ने र घरमा आक्रमणसम्म गर्ने काम भएको छ ।’
जनकपुर र यसको माध्यमिकी (पञ्चकोशी) परिक्रमा क्षेत्रभित्रको धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वका मठ, मन्दिर, सरोवर र स्थलहरूको सुरक्षा, सम्भार र विकास गर्न तथा बृहत्तर जनकपुर क्षेत्रको सामाजिक, आर्थिक र सांस्कृतिक विकासका पूर्वाधार विकसित गर्दै व्यवस्थित तीर्थस्थल एवं पर्यटन क्षेत्रका रूपमा योजनाबद्ध ढंगले विकास गर्न २०५५ सालमा ऐन ल्याएर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को स्थापना गरिएको थियो ।
