शीतलहर चलेपछि धमाधम विद्यालय बन्द हुँदै 

पुस २४, २०८१

शिव पुरी

Schools are gradually closing after the cold wave

रौतहट — केही दिनयता अत्यधिक चिसो बढ्न थालेपछि रौतहटका स्थानीय तहहरूले धमामध विद्यालय बन्द गर्न थालेका छन् । बुधबारसम्म १८ स्थानीय तहमध्ये अधिकांशले चिसोका कारण दुई दिनसम्म विद्यालय बन्द गरेका छन् ।

जिल्लाको गौर, ईशनाथ, चन्द्रपुर, वृन्दावन, फतुवाविजयपुर, राजदेवी, यमुनामाई, गोनाहीदेबाही नगरपालिकाले २६ गते शुक्रबारसम्मका लागि विद्यालय बन्द गरेको हो ।

गौर नगरपालिकाले अत्यधिक चिसो बढेको भन्दै ३ दिन गौर नगर क्षेत्रको विद्यालय बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले जानकारी दिए ।

चन्द्रपुर नगरपालिकाका शिक्षा शाखाका अधिकृत दीपेन्द्र मण्डलले बढ्दो चिसोले विद्यालयका बालबालिकाहरू प्रभावित हुन थाले पछि दुई दिनका लागि विद्यालय बन्द गर्नु परेको बताए । चिसो बढ्न थाले पछि जिल्लाको जनजीवन प्रभावित भएको छ । मानिसहरू घरबाट बाहिर निस्कन सकेका छैनन् । 

चिसोले अति प्रभावित बस्तीहरूमा गृह, सञ्चार तथा कानुन मन्त्रालय जनकपुर र मध्य पूर्वी पृतना हेडक्वार्टर बर्दिबासबाट प्राप्त भएको ७ सय थान कम्बल पालिका मार्फत विपन्न परिवारलाई वितरण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् ।

डिभिजन वन कार्यालय रौतहटबाट २० चट्टा दाउरा लिएर वितरण गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरी ११ नम्बर गण मार्फत ८/८, जिल्ला प्रशासन र नेपाली सेनाको वीर दल गण मार्फत २/२ चट्टा दाउरा वितरण गरिने प्रजिअ रेग्मीले बताए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully