राउतको स्टाट्सले बिच्किए मधेशमा गठबन्धन दल

पुस २३, २०८१

अजित तिवारी

Raut's stats split the coalition party in Madhesh

जनकपुर — जनमत पार्टीका अध्यक्ष सीके राउतले ‘कांग्रेस–एमालेले मधेश सरकारलाई घेराबन्दीमा पारेको’ भन्दै लेखेको स्टाट्सप्रति रोष प्रकट गर्दै सत्ता गठबन्धन दल कांग्रेस, एमाले, लोसपा र प्रमुख प्रतिपक्षी दल जसपाले आपत्ति जनाएका छन् । 

४ महिनापछि मंगलबारदेखि सुरु भएको मधेश प्रदेशसभाको बैठकमा बोल्दै कांग्रेसका मधेश सभापति एवं प्रदेश सांसद कृष्णप्रसाद यादवले जनमतका अध्यक्ष राउतले काठमाडौं बसेर मधेश प्रदेश सरकारलाई नियन्त्रण गर्न खोजेको आरोप लगाए । उनले मुख्यमन्त्री सतिशकुमार सिंहलाई राउतले स्वतन्त्ररुपमा काम गर्न नदिएको पनि बताए । ‘नाँच्न आउँदैन अनि आँगन टेढो देख्ने,’ उनले भने,‘शुभकामना दिने समयमा म विरोध गर्न चाहन्थे । तर, पीडा छ । कांग्रेस–एमालेलाई भ्रष्ट, कमिशन खोर र दलाल पार्टी भनेर राउतले मधेश सरकारलाई समस्यामा पारेको छ ।’

उनले मुख्यमन्त्री सिंहलाई काम गर्न कांग्रेसले समस्या नपारेको पनि दाबी गरे । ‘कांग्रेसले कुन ठाउँमा समस्या पार्‍यो भन्नुपर्‍यो नि,’ उनले भने,‘बरु मुख्यमन्त्रीजी बिहान गरेको सहमति भरे नै तोड्नु हुन्छ । हामी जनमतका सतिशसिंह मुख्यमन्त्री रहेको सरकारलाई समर्थन गरेका छौं । राउतलाई होइन् ।’

जनता समाजवादी पार्टीका प्रदेश सांसद एवं पूर्वमुख्यमन्त्री लालबाबु राउतले पनि जनमत अध्यक्ष राउतले दिएको अभिव्यक्तिको विरोध जनाए । उनले राउतको अभिव्यक्ति ‘आफ्नो दल दूधले नुहाएको र अरु दल चोर ठान्ने’ सोचले आएको बताए । ‘मधेश सरकार सुतेको छ । शान्तसँग बसेको हामीले अनुभूति गरेका छौं,’ राउतले भने,‘होल एन्ड सोल निर्णय गर्ने अधिकार मुख्यमन्त्रीको हुन्छ । माथिबाट निर्देशित गर्ने होइन । म पनि ५ वर्ष मुख्यमन्त्री थिएँ । अध्यक्षजीले कहिल्यै यसो–उसो भएन भनेर कहाँ बोल्नु र खेल्नु भयो ?’

एमालेकी सांसद शारदादेवी थापाले मधेश प्रदेश सरकारले विकासको गतिलाई बढाउनुपर्ने बताइन् । लोसपाका सांसद उपेन्द्र महतोले राउतले समाजिक सञ्जालमा अरु दललाई लगाएको आक्षेप गम्भीर रहेको बताए । ‘सरकार सञ्चालनमा समस्या छ भने भन्नुपर्‍यो नि,’ उनले भने,‘ड्राइभिङ सिटमा बसेर आक्षेप लगाउनु ठीक होइन । आन्दोलन गर्नु र सरकार चलाउनु बिल्कुलै फरक काम हो । यो कुरा जनमत पार्टीले बुझ्नुपर्छ ।’ 

मुख्यमन्त्री सिंहले प्रदेशसभाको बैठक आह्वान गर्न केही समय ढिलो भएको स्वीकार गरे । उनले दलहरुले दिएको सल्लाह–सुझावअनुसार नै सरकार अगाडि बढ्ने बताए । ‘खाल्डैखाल्डा भएको सडकमा ड्राइभिङ गर्दा झट्का त लाग्छ नै,’ मुख्यमन्त्री सिंहले भने,‘तर, जोगाएर हाँक्ने प्रयासचाहिँ गर्नुपर्छ ।’

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully