सोनलको संयोजकत्वमा वार्ता समिति

पुस २१, २०८१

अजित तिवारी

A negotiation committee chaired by Sonal

जनकपुर — मधेसवादी दलबीच एकताका लागि वार्ता र छलफल चलिरहेका बेला महन्थ ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेता जितेन्द्र सोनलको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

लोसपाका वरिष्ठ उपाध्यक्ष रहेका सोनलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षशील राजनीतिक शक्तिबीच संवाद, सहकार्य र कार्यगत एकताका लागि समिति बनाइएको लोसपाले जनाएको छ । 

समितिमा लोसपाका अर्का वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा. सुरेन्द्रकुमार झा र मनीषकुमार मिश्र रहेका छन् । समिति संयोजक सोनलले समितिको मुख्य उद्देश्य पार्टीहरूको साझा एजेन्डालाई पहिचान गर्दै राजनीतिक सहकार्य र एकताको आधार तयार गर्नु रहेको बताए ।

‘मधेसका अधिकारहरू सुनिश्चित गर्न सबै राजनीतिक शक्तिको साझा पहल आवश्यक छ । समितिले मधेस केन्द्रित दललाई एकजुट बनाउन संवाद र सहकार्यका लागि ढोका खोल्नेछ,’ सोनलले भने । 

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully