मधेसमा उच्च शिक्षाका लागि छात्रालाई छात्रवृत्ति

पुस १८, २०८१

रासस

Scholarship for female students for higher education in Madhes

महोत्तरी — मधेस प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ । प्रदेशका अतिविपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्तिको व्यवस्था गरेको हो ।

प्रदेशका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिने मधेस प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले सीमान्तकृत तथा विपन्न परिवारका जेहेन्दार छात्रालाई उच्चबाट वञ्चित हुननपरोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरिएको बताए। प्रक्रियागत काम निर्देशनालयले पूरा गर्ने र छात्रालाई छात्रवृत्ति दिइने उनले बताए ।

छात्रवृत्ति प्रदेशका आठवटै जिल्लाका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्राले पाउने छन् । छात्रवृत्तिका लागि एक हजार ७१ आवेदन प्राप्त भएका निर्देशनालयले जनाएको छ । छात्रवृत्तिमा साधारण र प्राविधिक गरी दुई वर्गमा शैक्षिक शुल्कवापत वार्षिक २५ र ३५ हजार प्रदान गरिने छ । 

प्राविधिक शिक्षा पढ्नेलाई रु ३५ र मानविकी, वाणिज्य, शिक्षाका लागि रु २५ हजार उपलब्ध गराइने छ । प्रदेश सरकारले छात्रवृत्तिका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख विनियोजन गरेको छ । मधेसमा शिक्षाको अवस्था अन्य प्रदेशको तुलनामा कमजोर छ ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार मधेसको साक्षरता दर ६३.५ प्रतिशत तथा  महिला साक्षरता  ४३.२ प्रतिशत छ ।

रासस

Link copied successfully