मधेशका सञ्चारमन्त्री भन्छन् : मिडिया नभएको भए संघीयता, गणतन्त्र र लोकतन्त्र सम्भव थिएन

पुस १६, २०८१

विनय आजाद

Minister of Communication of Madhesh says: Federalism, republic and democracy would not be possible if there was no media

सिरहा — मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मुलुकमा भएका हरेक परिवर्तनमा पत्रकारिताको पनि राजनीति जत्तिकै योगदान रहेको बताएका छन् । आमसञ्चार प्राधिकरणद्वारा लहानमा मंगलबार आयोजित साइबर सुरक्षा र एआईसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

'मुलुकमा जति पनि राजनीतिक परिवर्तनहरू भएका छन्, ती हरेकमा राजनीतिभन्दा कम पत्रकारिताको योगदान छैन,' मन्त्री ले खीले भने, 'संघीयता, गणतन्त्र, लोकतन्त्र मिडियाको भूमिका नभएको भए सम्भव थिएन ।' तर, अहिले पत्रकारिता जगतले भोगिरहेका समस्यालाई राज्यले गम्भीरतापूर्वक नलिनु दुःखद रहेको उनको भनाइ छ ।

सञ्चार क्षेत्रलाई सबल बनाउन र सञ्चारकर्मीहरूको वृत्ति विकासका लागि राज्य गम्भीर हुन ढिला गर्न नहुने उनले बताए । पत्रकारिताबिनाको अहिलेको व्यवस्था नै अधुरो रहने उनको भनाइ छ ।

मन्त्री लेखीले आफ्नो मन्त्रालयले पत्रकारिता गरिरहेका र पत्रकारितामा लामो समय बिताएका पत्रकारका लागि विभिन्न योजनाहरू बनाइरहेको पनि बताए । पत्रकारलाई बिमा गर्ने, पढ्न छात्रवृत्ति दिने, राम्रो गर्ने पत्रकारलाई आर्थिक सहयोग गरेर हौसला प्रदान गर्ने लगायतका योजनाहरूमा काम भइरहेको उनले जानकारी दिए ।

राजनीतिक आन्दोलनपश्चात् प्राप्त उपलब्धिहरू कार्यान्वयनमा आउन नसकेको भन्दै मिडियालाई प्राथमिकतासाथ उठाइदिन उनले आग्रह पनि गरेका छन् । यस्तै प्रदेश सरकारलाई अधिकारविहीन जस्तो बनाएर राखिएको भन्दै उनले केन्द्र सरकारप्रति गुनासो पनि पोखेका छन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully