प्रधानमन्त्री ओली सहभागी आमसभामा मान्छे ल्याउन पेट्रोल वितरण

पुस १५, २०८१

भूषण यादव

Distribution of petrol to bring people to the general meeting attended by Prime Minister Oli

वीरगन्ज — पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष एवं जनता समाजवादी पार्टीका नेता प्रदीप जयसवाल आइतबार एमाले पार्टी प्रवेश गरे । सखुवाप्रसौनीको औराहामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा जयसवाललगायत उनको समूहलाई पार्टीमा प्रवेश गराउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली आफैं उपस्थित थिए । उक्त कार्यक्रममा जानका लागि पेट्रोलको कुपन बाँडिएको भन्दै अहिले सामाजिक संजालमा आलोचना भइरहेको छ ।

सामाजिक संजालमा फैलिरहेको भिडियो र तस्बिरमा विन्दवासिनी गाउँपालिका–२ स्थित बहुअर्वा चोकमा रहेको एक पेट्रोल पम्पमा पेट्रोल हाल्नेको भीडभाड देखिन्छ । विन्दवासिनी गाउँपालिका एमाले कार्यकर्ता रमेश शाहले पार्टीको कार्यक्रममा जानेहरूका लागि दुई लिटर पेट्रोल निःशुल्क व्यवस्था भएको बताए । उनले कार्यक्रमको अघिल्लो दिन नै पार्टी कार्यक्रमको खबर आएको र कार्यक्रमपूर्व बिहान निःशुल्क पेट्रोल हाल्ने कुपनको व्यवस्था भएको थाहा पाएको दाबी गरे ।

कार्यक्रममा सहभागीहरूको संख्या बढाउन जनही दुई लिटरका दरले पेट्रोलको कुपन बाँडिएको बारे एमाले पर्साका सचिव महेश दासले ‘खर्च व्यवस्थापन पार्टीले नगरेको’ बताए । एमालेको विन्दवासिनी गाउँपालिका कमिटीका अध्यक्ष गम्भीरा साहले भने कार्यक्रममा जाने कार्यकर्ताका लागि गाउँ कमिटीले तेलको व्यवस्था गरेको बताए । ‘संख्या भने यकिन भएन,’ उनले भने । खर्चको विषयमा भने उनले यकिन बताउन चाहेनन् । एमालेका जिल्ला नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओली आएको उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर ५ हजार जना एमाले प्रवेश गरेको दाबी सुनाए । 

एमाले पर्साका जिल्ला तहका नेताहरू भने कार्यकर्ताको भीड बढी बढाउन पेट्रोल बाँडिएको विषयमा बोल्न चाहँदैनन् । कान्तिपुरसँगको कुराकानीमा जिल्लास्तरीय एक नेताले भने, ‘हरेक पार्टीको आमसभामा टाढा–टाढाबाट आउने कार्यकर्तालाई व्यवस्थापन गर्न खर्च लाग्छ नै !,’ ती नेताले भने, ‘बृहत् पार्टी प्रवेश कार्यक्रममा सबै जनालाई पेट्रोलको कुपन दिएको नभएर कार्यक्रमस्थल भन्दा टाढाका केही कार्यकर्तालाई त्यस्तो सुविधा दिइएको हो ।’

भूषण यादव

Link copied successfully