महोत्तरी — महोत्तरीको जलेश्वरमा प्रधानाध्यापकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । जलेश्वर-२ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीव झाले कक्षा ७ मा अध्ययन गर्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप विद्यार्थीले लगाएका छन् ।
शुक्रबार विद्यालयको आफ्नो कक्षासँगै अन्य कक्षामा समेत आफूमाथि प्रधानाध्यापक झाले दुर्व्यवहार गरेको जानकारी छात्राले गराएकी थिइन् । आइतबार विद्यालय समय सुरु भएसँगै विद्यार्थी आन्दोलित भएका हुन् । आन्दोलित विद्यार्थीले प्रअ झामाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।
विद्यार्थी आन्दोलनमा उत्रिएपछि आरोपबारे बुझ्न भन्दै प्रअ झालाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गर्ने काम भइरहेको महोत्तरीका प्रहरी प्रमुख नकुल पोखरेलले जानकारी दिए ।
आन्दोलन रोक्न विद्यार्थीलाई सम्झाउने काम भइरहेको र घटनाबारे थप सोधपुछको काम अघि बढाएको पोखरेलले बताए । अहिले विद्यार्थीले विद्यालय अगाडि र जिल्ला प्रशासन कार्यालयअघि आन्दोलन गरिरहेका छन् ।
