म्याजिक नम्बर भन्दै मनपरी गर्नेका दिन गए : प्रधानमन्त्री ओली

पुस १४, २०८१

भूषण यादव

Gone are the days of fooling around with magic numbers: Prime Minister Oli

वीरगन्ज — प्रधानमन्त्री केपी शर्मा ओलीले 'म्याजिक नम्बर भन्दै मनपरी गर्नेका दिन' गएको बताएका छन् । नेकपा एमाले पर्साले आइतबार सखुवाप्रसौनी गाउँपालिकाको औराहामा आयोजना गरेको बृहत् पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

'देशको राजनीति एकदम अस्थिर भयो, ठूला पार्टीका बीच झगडा लगाउने र एउटाको काँधबाट अर्कोको काँधमा उफ्रिने र फेरि अर्कोको काँधमा चढेर 'म्याजिक नम्बर' भन्दै मनपरी गर्नेका दिन गए,' उनले भने ।  

अहिले मुलुकका दुई ठूला पार्टी मिलेर संयुक्त सरकार बनाएको हो,’ उनले भने, ‘यो गठबन्धन हैन, यो संयुक्त सरकार हो ।’ अनेक हल्ला चलाएर विदेशसँगको सम्बन्ध बिगार्ने प्रयाससमेत भएको उनले खुलाए । 

प्रधानमन्त्री ओलीले सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललाई टीका र माला लगाएर एमालेमा प्रवेश गराएका थिए । ०७४ को स्थानीय तहको निर्वाचनमा जयसवाल जसपाबाट निर्वाचित भएका हुन् । 

एमालेलाई निर्णयक शक्तिका रूपमा विकास गर्नुपर्छ भन्ने अभियानलाई सार्थक बनाउन पार्टी प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले सबैलाई स्वागत गरेका थिए ।

फरक प्रस‌ंगमा उनले अलपत्र परेका पुराना योजना अगाडि बढेको र देश विकासको गति अघि बढिसकेको पनि दाबी गरेका छन् । मधेस र सिंगो तराईका जनताको जीवनस्तरमा परिवर्तन ल्याउन हुलाकी राजमार्ग आफूहरूले सुरु गरेको पनि प्रधानमन्त्री ओलीले बताए ।

‘सिँचाइका लागि सुनकोशी मरिन डाइभर्सनको काम पनि हामीले सुरु गरेका थियौं । विगतमा हामीले सुरु गरेको तर सरकार छाडेपछि अलपत्र परेका योजनाको कामले अहिले गति लिएको छ,’ उनले भने, ‘कांग्रेस र एमालेको अहिलेको संयुक्त सरकारले विकासको गतिलाई अगाडि बढाएको छ । पूर्व–पश्चिम राजमार्ग चौडा बनाउने काम पनि अगाडि बढेको छ ।’ 

‘मधेसका मसिहा भनिने नेताहरूलाई मधेस विकास निर्माणको माग लिएर आउनूस् भन्दा संविधानको धारा फेर्न पर्‍यो भनेर आउनुहुन्छ,’ उनले भने, ‘त्यो धाराबाट के आउँछ भनेर भन्दा केही आउँदैन । संविधानको धाराको राजनीति गरेर जनतालाई अलमलमा राखिएको छ । मधेस र मधेसी जनताको भलाइका कुरा उहाँहरूको मागमा हुँदैन ।’

किसानलाई कसरी आधुनिकीकरण गर्ने, बढी फसल कसरी उत्पादन गर्ने सिकाउनुपर्ने उनले बताए । ‘विकास र पूर्वाधारका समस्या हामीले बुझेका छौं,’ उनले भने, ‘मधेस र काठमाडौं जोड्ने फास्ट ट्रयाक निर्माण  हुँदैछ ।’

भूषण

Link copied successfully