धनुषा — नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले काठमाडौंमा बसेर मधेसका समस्या समाधान गर्न नसकिने बताएका छन् ।
महोत्तरीको भटोलियामा शनिबार आयोजित कांग्रेस महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले मधेसमा बेरोजगारी व्याप्त रहेको र यहाँका किसान मल, सिँचाइ तथा बजारको समस्याले प्रताडित भएको बताएका हुन् । ‘मधेस अप्ठ्यारोमा रहेको हामीले बुझेका छौं,’ उनले भने, ‘काठमाडौंमा बसेर मधेसका समस्या समाधान गर्न सकिँदैन ।’
फरक प्रसंगमा उनले पार्टीको महाधिवेशन समयमै गर्न पनि जोड दिए । ‘पार्टीको १५ औं महाधिवेशन समयमा गर्न हामीले भनेका छौं तर पार्टीका पदाधिकारीहरू सुस्त जस्तो देखिन्छन्,’ नेता कोइरालाले भने, ‘निर्वाचनको मुखमा आएर अधिवेशन गर्न सुरु गर्यौं भने हामीहरू फेरि कमजोर हुन सक्छौ ।’
कोइरालाले कांग्रेस र एमालेले अगामी निर्वाचनमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने पनि उनले बताए । कांग्रेसको लक्ष्य आगामी निर्वाचनमा एक्लै लडेर तीनै तहमा जितेर देखाउनुपर्ने आवश्यकता रहेको पनि कोइरालाले बताए । ‘हरेक २/२ महिनामा सरकार परिवर्तन हुने र राजनीतिक स्थायित्व नहुने भएपछि एमालेसँग मिलेर सरकार गठन गर्नुपर्ने बाध्यता आइपरेको हो,’ उनले भने, ‘तर, यस सरकारले पनि जनताको अपेक्षाअनुसार काम गर्न सकेको छैन ।’
सरकारले विलम्ब नगरी संविधानमा रहेका त्रुटि परिवर्तन गर्न अन्य दलसँग मिलेर अगाडि बढ्नु पर्ने समय आएको बताए । ‘जनता निराश छन्,’ नेता कोइरालाले भने, ‘यो निराशालाई चिर्दै अघि बढ्नुपर्ने समय आएको छ ।’
