बर्दिवासमा २३ विद्यालयमा ट्राफिक सचेतना कक्षा

पुस १२, २०८१

सुनिता बराल

Traffic awareness classes in 23 schools in Bardiwas

महोत्तरी — महोत्तरीको बर्दिवास नगरपालिकाको माध्यमिक तहमा अध्ययन गर्ने ४ हजार ७ सय ७० विद्यार्थिलाई ट्राफिक सचेतना कक्षा संचालन गरिने भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले बर्दिवास नगरपालिकासँगको समन्वयमा आउने माघ महिनासम्म ट्राफिक सचेतना अभियान संचालन गर्न लागेको ट्राफिक प्रहरीले जनाएको छ । बर्दिवासका २३ माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्रा/छात्रलाई ट्राफिक नियम र सडक सुरक्षाबारे सचेतना कक्षा संचालन गर्ने गरी अभियानको थालनी भएको जिल्ला ट्राफिक कार्यालय महोत्तरीका प्रमुख लक्ष्मीराज जोशीले जनाए । 

ट्राफिक प्रहरीका यस्तै अभियानकै कारण यस वर्ष जिल्लामा सवारी दुर्घटनामा समेत कमी आएको प्रहरीले जनाएको छ । गत आर्थिक वर्षको मंसिरसम्म २ सय ३० दुर्घटना भएकोमा चालु आर्थिक वर्षमा १ सय ७६ घटना भएको जोशीले जानकारी दिए । 

समाजमा यातायात व्यवस्थापनलाई सहज र सुरक्षित बनाउने उद्देश्यसहित ट्राफिक निमयको उल्लंघनले निम्त्याउन सक्ने दुर्घटना रोक्न, ड्राइभर, पैदलयात्री र अन्य सडक प्रयोगकर्तालाई जिम्मेवारी र अधिकारसम्पन्न बनाउन, जिम्मेवार र अनुशासित सडक व्यवहारलाई प्रोत्साहन गर्न, ट्राफिक नियमबारे जानकरी दिन अभियान थालिएको जोशीले बताए । 

अभियानबाट विद्यार्थी, जनप्रतिनिधि, अभिभावक, शिक्षक र कर्मचारी गरी कुल ५ हजार ७० सडक प्रयोगकर्ता लाभान्वित हुने ट्राफिक प्रहरीको भनाइ छ ।

सुनिता बराल बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully