उद्योग क्षेत्रकै घरेलु कार्यालय तीन महिनादेखि प्रमुखविहीन 

कार्यालयका मन्त्रालय पनि एक वर्षदेखि इन्जिनियरलाई निमित्त सचिवको जिम्मा दिएर चलेको छ

पुस ११, २०८१

लक्ष्मी साह

The domestic office of the industrial sector has been without a chief for three months

बारा — बारा जिल्ला उद्योगका लागि ‘हब’ मानिन्छ । तर औद्योगिक यस जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय गत तीन महिनादेखि प्रमुखविहीन छ । मधेस प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत यो कार्यालय पर्दछ । तर यो मन्त्रालय स्वयं करिब एक वर्षदेखि निमित्त सचिवको भरमा चलेको छ ।

मन्त्रालयको निमित्त सचिवको जिम्मा बारा जिल्लाका फेटा गाउँपालिका निवासी इन्जिनियर सुशील साह छन् । उनी प्रदेश समायोजनमा परेका इन्जिनियर हुन् । मन्त्रालयमा सचिव भएको दरबन्दीमा उनी निमित्त सचिव भएर एक वर्षदेखि मन्त्रालय सम्हालेका हुन् ।

मन्त्रालयका निमित्त सचिव साहले भने, ‘सरुवा गर्ने अधिकार मुख्यमन्त्री कार्यालय प्रशासनको हो, मुख्यमन्त्री ज्यूसित कुरा राखेको छु । तर केही भएको छैन । तर मन्त्रालयकै कसैलाई तोकेर पठाउँछु ।’

आफूले चाहेर सरुवा गरी पठाउन नमिल्नेसम्म मात्र उनले बताए । आफ्नै गृह जिल्लाको आफ्नै मन्त्रालय मातहतका कार्यालयमा प्रमुख पठाउन नसकेका र आफैँ इन्जिनियर भएर मन्त्रालय सम्हालेको विषयमा मन्त्रालयका निमित्त सचिव भएर सम्हालेका साह कान्तिपुरसित खुल्न चाहेनन् ।  

उपसचिवको दरबन्दी रहेको यस कार्यालयका तत्कालीन कार्यालय प्रमुख उपसचिव धर्मेन्द्रलाल कर्ण असोज ७ मा वीरगन्जस्थित यातायात कार्यालयमा सरुवा भएर गएदेखि यो कार्यालय कार्यालय प्रमुख (उपसचिव) विहीन बनेको हो ।

कार्यालय प्रमुख (उपसचिव) नहुँदा चालु आर्थिक वर्षको कुनै पनि बजेट परिचालन र कार्यक्रम सञ्चालन हुन नसकेको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त सहायक स्तर छेठौं तहका शाखा अधिकृत अलि शरण अन्सारीले बताए । 

‘जिल्ला प्रशासन कार्यालयबाट कार्यालय प्रमुखका लागि पहल गरिएको छ, तर कोही पनि आइसक्नु भएका छैनन्,’ उनले भने । उपसचिव अभावले उनै अलि शरणले कार्यालय सम्हालेका हुन् । प्रमुख नहुँदा दलित समुदायका लागि आरक्षित ‘भगत सर्वजीत’ सीपमूलक कार्यक्रम, अन्य सबै समुदायका लागि सीपमूलक विकासका कार्यक्रम सञ्चालनसहित कार्यालयका अन्य आर्थिक कारोबार र अनुगमनका कार्यक्रम ठप्प रहेको उनले बताए । 

गत असोजमा सीपमूलक तालिम सञ्चालनका लागि आधा दर्जन प्रकारका फरक फरक तालिमका प्रशिक्षक माग गरिए पनि त्यसको आवेदन लिएर कार्यालय प्रमुखको अभावले निर्णय गर्न सकेको छैन । त्यस तालिममा सहभागिताका लागि प्रशिक्षार्थीहरूसमेत माग गर्न सकिएको छैन । 

समुदायलाई र व्यक्तिलाई आत्मनिर्भर बनाउने उद्देश्यले कम्प्युटर, ब्युटी पार्लर, सिलाई कटाई, मोटरसाइकल मरम्मत, हाउस वायरिङ, मोबाइल सेट मरम्मत, बच्चाहरूको खेलौना र गलैँचा बनाइने तालिमका लागि प्रदेश सरकारअन्तर्गतका उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले यस कार्यालयका लागि बजेट विनियोजन गरेको छ । 

सेवाग्राहीलाई जसोतसो सेवा दिइँदै आइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले भने, ‘म र प्रमुख जिल्ला अधिकारी ज्यूले धेरै पटक सम्बन्धित मन्त्रालयका निमित्त सचिव र मुख्यमन्त्री कार्यालयमा समस्या अवगत गराएर अनुरोध गर्‍यौँ, तर कोही आएका छैनन् । तीन महिनादेखि कार्यालय कसरी चल्दो होला भन्ने हेक्का छैन ।’ 

जिल्लामा निर्माण सामाग्री, खाद्यान्नलगायत यति धेरै उद्योग छन् कि अनुगमन गर्न नसकिएको उनले बताए । ‘कसैले जिल्लामा आउन माग्यो भने मन्त्रालयले दिन (पठाउन) पनि गाह्रो मान्दो रहेछन्,’ उनले भने, ‘मन्त्रालय पनि निमित्तकै भरमा छ । यहाँ भने बेहाल छ ।’ 

कार्यालयको भर्खरको नयाँ गाडी बिग्रेको धेरै समय भइसके पनि कोही बनाउने नभएको उनले बताए । 

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully