संसद् छलेर अध्यादेश ल्याउन थालिएको भन्दै मधेशमा सत्ता गठबन्धनमा बढ्यो असन्तुष्टि

पुस ११, २०८१

सन्तोष सिंह

Dissatisfaction has increased in the ruling coalition in Madhesh saying that the ordinance has been passed by bypassing the parliament

धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले संसद् छलेर स्थानीय तहमा कार्यरत कर्मचारी बढुवासम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि सत्ता गठबन्धनभित्र असन्तुष्टि चुलिएको छ ।

दलहरूसँग सहमति नजुटाइ मुख्यमन्त्रीले अध्ययादेश जारी गर्न खोज्दा सत्ता गठबन्धनभित्रै असन्तुष्टि बढेको हो ।

गठबन्धनका नेताहरूले अध्यादेश रोक्न प्रदेश सभा बैठक तत्काल आह्वान गर्न मुख्यमन्त्री सिंहलाई बुधबार स्मरणपत्र बुझाएका छन् । नेकपा एमाले संसदीय दलका नेता सरोज यादव, नेपाली काग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपाका सांसद रूपा यादवले हस्ताक्षर गरी मुख्यमन्त्रीलाई बुझाइएको स्मरणपत्रमा प्रदेशसभा बैठक आह्वान गर्न माग गरिएको हो । अध्यादेश रोक्न मुख्यमन्त्रीलाई संसद् बोलाउन आग्रह गरिएको नेपाली काग्रेस संसदीय दलका नेता  यादवले बताए ।

तीनै दलले अध्यादेशबारे साझा धारण बनाउन दलका नेताहरूको बैठक बिहीबार दिउँसो ३ बजे बस्दै छ । मन्त्रालय र लोक सेवाको सहमति लिएर अध्यादेश प्रदेश प्रमुखको कार्यालयमा पठाउन खोज्दा सतागठबन्धन नेपाली काग्रेस, नेकपा एमाले र लोसपाले अध्यादेश रोक्न प्रदेशसभा बैठक आह्वान गर्न मुख्यमन्त्रीलाई बुधबार स्मरणपत्र बुझाएका हुन् ।  मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले अर्थ मन्त्रालय, गृह, सञ्चार तथा कनुन मन्त्रालय र मधेश प्रदेश लोक सेवा आयोगबाट अध्यादेशको सहमति लिएको छ । कर्यालयबाट अध्यादेशको खाका तयार गरी सहमतिको प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव राजन नेपालले बताए । स्थानीय तहहरुले कर्मचारीको वृद्धिविकासका लागि सूचना प्रकाशित गरेको तर ऐनमा त्रुटि भएकोले ‘फास्टट्रयाक’मा अध्यादेश ल्याउने तयारी गरिएको मुख्यमन्त्री सिंहले बताए ।

‘ऐन ल्याउन लामो प्रक्रिया भएकोले दलहरूको सहमतिमा अध्यादेश ल्याउन लाग्दा विभिन्न आरोपहरू लाग्न थालेको छ,’ मुख्यमन्त्री सिंहले भने,‘अध्यादेशमा आफनो स्वार्थ थप्न दिनहुँ २/४ ग्रुपहरू आउने गरेको छ । कुनै कर्मचारीको ग्रुपले आफूहरू सिनियर बन्ने बुँदा थप्न पहल गर्छन् त कुनै-कुनै ग्रुपले एक पक्षको माग अध्यादेशमा प्रभावित गर्न खोज्छ्न् । हामी कुनै सीमित स्वार्थका लागि अध्यादेश ल्याउँदैनौँ ।’

मधेश प्रदेश सरकारले बनाएको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनाएको ऐन-२०८१ भदौ ७ गते प्रदेश प्रमुखले प्रमाणीकरण गरेका थिए । प्रदेशसभाको अधिवेशन चलिरेहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा प्रदेश मन्त्रिपरिषद्को सिफरिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्ने व्यवस्था छ । मधेश प्रदेशसभाको दोश्रो कार्यकालको तेस्रो अधिवेशन असोज ४ गतेसम्म चलेको थियो । मधेशमा मेला महोत्सव चलिरहेकाले प्रदेशसभाको चौथो अधिवेशन बस्न ढिलाइ भएको मुख्यमन्त्री सिंहले बताए ।

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully