अवैध उत्खनन् गर्दैगर्दा डोजर र टिपर नियन्त्रणमा

पुस ९, २०८१

विनय आजाद

Controlling dozers and tippers while doing illegal mining

सिरहा — सिरहामा नदीमा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा डोजर (जेसीबी) र टिपर नियन्त्रणमा लिइएको छ । गोलबजार नगरपालिका-१ स्थित गागन खोलाबाट मंगलबार बीहान डोजर र टिपर १/१ वटा नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको प्रदेश ३–०१–००३ क ६९२७ नम्बरको उक्त डोजर र प्रदेश २–०३–००१ क १९४८ नम्बरको चोहर्वास्थित सवडिभिजन वन कार्यालयमा राखिएको छ । सव डिभिजन वन कार्यालय, चोहर्वाका प्रमुख आविद हुसेनले यस विषयमा थप जिल्लाबाटै बुझ्नुपर्ने प्रतिक्रिया दिए ।

तर, डिभिजन वन कार्यालय, लहानका प्रमुख शैलेन्द्रकुमार मिश्रले यस विषयमा अनभिज्ञता जनाए । आफूलाई यस विषयमा जानकारी नभएको भन्दै उनी पन्छिए । 

डिभिजन वन कार्यालय, लहानका एक कर्मचारीका अनुसार मंगलबार बिहान ३ बजेतिर विशेष सूचनाका आधारमा लहानको टोली खोलामा गएको थियो । तर, उक्त टोलीले मात्रै ती गाडी नियन्त्रणमा लिन असम्भव भएपछि चोहर्वाबाट पनि थप टोली खोलामा गएको थियो ।

‘गाडीलाई नियन्त्रणमा लिन खोज्दा त्यहाँ उत्खनन् गराइरहेका मान्छेहरू गस्तीमा खटिएका कर्मचारीसँग नै जुध्न खोजेका थिए,’ एक कर्मचारीले कान्तिपुरसित भने, ‘त्यसपछि चोहर्वाबाट थप टोली गएपछि गाडी नियन्त्रणमा लिइएको थियो ।’

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully