ठगी आरोपमा नविल बैंकका तत्कालीन शाखा प्रमुख पक्राउ

किशोर साहमाथि १ करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोप

पुस ८, २०८१

विनय आजाद

The then branch head of Nawil Bank was arrested on charges of fraud

सिरहा — नविल बैंकका तत्कालीन शाखा प्रमुख किशोर साह पक्राउ परेका छन् । जनकपुरस्थित भानु चोक शाखाका तत्कालीन शाखा प्रमुख साह ठगी आरोपमा  पक्राउ परेका हुन् ।

साहलाई शुक्रबार बेलुकी बैंकबाटै धनुषा प्रहरीको सहयोगमा पक्राउ गरिएको र उनलाई मिर्चैया ल्याइएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए । आइतबार जिल्ला अदालत, सिरहाबाट पाँच दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान कार्य भइरहेको उनले जनाए । उनीमाथि १ करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

प्रहरीका अनुसार उनीविरुद्ध उच्च अदालत, राजविराज इजलासबाट ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा मुद्दा परमादेश भएर आएको हो । साह मिर्चैयास्थित तत्कालीन नेपाल बंगलादेश बैंकको शाखा प्रमुख हुँदा ऋणको रकम ठगी गरेको भनी मुद्दा परेको प्रहरीले जनाएको छ ।

गोलबजारको सीता फुड एण्ड बेभरेजकी सञ्चालिका गोलबजार नगरपालिका-४ की सोमिन्द्राकुमारी साहले २०७८ सालमा सो बैंकबाट ऋण लिएको १ करोड ६० लाख रुपैयाँ आफूले खाताबाट झिक्नुआगावै साहले विभिन्न व्यक्तिको नाममा फर्जी चेकमार्फत झिकेको जाहेरीमा दाबी गरेकी छिन् ।

नेपाल बंगलादेश बैंक र नविल बैंक मर्ज भएपछि केही समय मिर्चैयास्थित नविल बैंकमा शाखा प्रमुखका रूपमा काम गरेका साह पछिल्लो समय जनकपुरस्थित शाखा प्रमुखका रूपमा काम गर्दै आएका थिए । नविल बैंकका केन्द्रीय प्रवक्ता सुरेश त्रिपाठीले साहले केही समयअगाडि नै राजीनामा बुझाइसकेको जानकारी दिए ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully