सिरहा — प्रहरीको प्रारम्भिक अनुसन्धानमा मंसिर १६ गते बिहान सिरहाको बरियारपट्टी गाउँपालिका–१ छोटकी टोली कचनारीमा गाडीको ठक्करबाट मृत्यु भएका सशस्त्र प्रहरीका नायव निरीक्षक ४६ वर्षीय लक्ष्मण यादवको तस्करहरूले हत्या गरेको पाइएको छ ।
मदिरा तस्करीमा संलग्न गिरोहलाई रोक्ने कोसिस गर्दा तस्करहरू सवार गाडीले सशस्त्रका सई यादवलाई ठक्कर दिएर फरार भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार उक्त घटनामा भारतीय र नेपाली गरी पाँच जना संलग्न रहेको र उनीहरूको खोजी कार्य भइरहेको छ ।
सशस्त्र प्रहरी बेस क्याम्प बडहरीमा कार्यरत सई यादवले मदिरा लिएर नेपालबाट एउटा जीप भारत जाँदैछ भन्ने सूचनाका आधारमा गस्तीमा खटिएका थिए । प्रहरीका अनुसार उनीसहित केही दूरीमा फरक–फरक स्थानमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका ८ जना प्रहरी त्यसबेला ड्युटीमा थिए ।
बिहानको ३ बजेको समयमा सई यादव गस्ती गर्दै हिँडिरहेकै स्थानमा आइपुगेको जीपलाई उनले रोक्न खोज्दा ठक्कर दिएर भारततर्फ भागेको थियो । अन्य प्रहरीहरू घटनास्थलदेखि करिब सय मिटरको दूरीमा मात्रै भए पनि गाडी तीव्र गतिमा भागेकाले प्रतिकार गर्न नसकिएको प्रहरीको भनाइ छ । घटनालगत्तै उनलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
यस घटनामा अहिले सिरहाको नवराजपुर गाउँपालिका–५ का पूर्ववडाध्यक्ष मनोज यादव प्रहरी नियन्त्रणमा छन् । घटनामा संलग्न रहेका अन्यको पनि पहिचान भइसकेको प्रहरीले दाबी गरेको छ । प्रहरीका अनुसार यसमा नेपालीसँगै भारतीय नागरिक पनि संलग्न छन् । उनीहरू सबै भारतमा रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बताए । उनका अनुसार परिवारबाट किटानी जाहेरी लिएर प्रहरीले सवारी ज्यान तथा संगठित अपराधमा अनुसन्धान अगाडि बढाएको एसपी पण्डितले बताए ।
‘देशबाहिर भएर नियन्त्रणमा लिन समस्या भएको छ । उनीहरूलाई नेपाल ल्याउनका लागि भारतीय पक्षसँग समन्वय जारी छ,’ उनले भने, ‘घटनामा प्रयोग भएका गाडी भारतीय नम्बर प्लेटको सेतो रंगको टाटा कम्पनीको सफारीको हो ।’
सिरहाका प्रहरी प्रमुख पण्डितका अनुसार गाडी रोक्दा मदिरासँगै गाडी र मानिसहरूलाई पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिन सक्ने भएर उनीहरू प्रहरीलाई ठक्कर दिंदै अगाडि बढेको अहिलेसम्मको अनुसन्धानमा देखिएको छ ।
सई यादवको हत्या भएसँगै श्रीमती र दुई छोरीहरू शोकमा डुबेका छन् । ड्युटीमा गएका श्रीमान्को हत्या भएको खबर पाएदेखि श्रीमती संगीतादेवी यादवले आफूलाई सम्हाल्न सकेकी छैनन् । उनकी दुई छोरीहरू पनि अझै आमाजस्तै शोकमग्न छिन् । बाबुको मृत्युको खबर पाएपछि गाउँ फर्किएका जेठी छोरी १७ वर्षकी सुस्मिता र कान्छी छोरी १५ वर्षकी सुजाता काठमाडौंमा पढ्छन् । सुस्मिता कक्षा १२ मा विज्ञान संकायमा अध्ययन गर्दैछिन् भने सुजाता कक्षा ११ मा वाणिज्य संकायमा अध्ययनरत छिन् ।
