औद्योगिक करिडोरमा लोडसेडिङ र विद्युत् कटौतीप्रति वीरगन्ज उद्योग वाणिज्य संघको असन्तुष्टि  

पुस ७, २०८१

शंकर आचार्य

Dissatisfaction of Birgunj Chamber of Commerce and Industry over load shedding and power cuts in industrial corridors

पर्सा — पछिल्लो एक महिनादेखि देशकै ठूलो औद्योगिक करिडोर वीरगन्ज–पथलैया औद्योगिक करिडोरका औद्योगिक प्रतिष्ठानमा नेपाल विद्युत् प्राधिकरणले गरिरहेको अघोषित लोडसेडिङ र बिनासूचना विद्युत् कटौतीप्रति वीरगन्ज उद्योग वाणिज्य संघले असन्तुष्टि जनाएको छ । 

संघका अध्यक्ष अनिल अग्रवालले आइतबार विज्ञप्ति जारी गर्दै औद्योगिक प्रतिष्ठानहरुको अक्सिजनकै रुपमा रहेको विद्युत्‌ नियमित आपूर्ति नहुँदा उद्योगहरु संचालनमा समस्या भएको बताएका हुन् ।  'झण्डै ५–६ वर्षअघि नेपाल विद्युत् प्राधिकरणले घोषणा गरेको ‘लोडसेडिङमुक्त औद्योगिक क्षेत्र’ तथा ‘उज्यालो नेपाल’ को नाराबाट उत्साहित भएका उद्योगी, व्यवसायी तथा सर्वसाधारण नेपालीहरु हालका दिनहरुमा बढ्दो विद्युत् कटौती, गुणस्तरीय विद्युत् आपूर्तिको अभावको कारण उद्योगहरुको उपकरण र कच्चा पदार्थ बिग्रिनुका साथै उत्पादन प्रक्रियामा समेत नकारात्मक असर परिरहेको छ,' विज्ञप्तिमा उल्लेख छ । 

‘पर्सा–बारा औद्योगिक करिडोरका उद्योगहरुले विभिन्न समस्याहरु खेपिरहेकै बखत विद्युत् कटौतीको समस्या झेल्नु पर्दा उद्योगीहरु मर्कामा परेका छन्,’ विज्ञप्तिमा छ, ‘विद्युत् कटौतीको बेला डिजी सेटबाट उद्योग सञ्चालन गर्नु पर्दा उत्पादन लागत बढ्न गई उद्योगहरुले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै गइरहेका छन् । त्यस्तै साना उद्योगहरुले विद्युत् कटौतीको बेला डिजी सञ्चालन गर्न सक्ने अवस्था नभएकोले उद्योग नै बन्द राख्नु पर्ने अवस्था रहेको छ ।’

करिडोरमा रहेका औद्योगिक फिडरमा २४ घण्टामा १४/१५ पटकसम्म ट्रिपिङ भइरहेको कारण औद्योगिक उपकरण बिग्रिनुका साथै कच्चा पदार्थहरु नोक्सान भइरहेको अध्यक्ष अग्रवालले बताए । उनले समस्याको समाधानका लागि लोडसेडिङको निश्चित समयावधि नै तोकी बाँकी समयमा गुणस्तरिय विद्युत् आपूर्ति गर्नु पर्ने संघको धारणा रहेको बताए । 

संघले विद्यमान जटिल समस्या र अन्योलपूर्ण अवस्थाको शीघ्र निराकरण गर्न सम्बन्धित निकायहरुमा गम्भीर ध्यानाकर्षणसमेत गराएको छ । साथै समस्याको समाधानका लागि वैकल्पिक व्यवस्था गर्न विद्युत् प्राधिकरणसँग माग पनि गरिएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully