धनुषा — मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सको जितले प्रदेशका खेलाडीको आत्मबल, प्रतिष्ठा र उत्साहमा वृद्धि भएको बताएका छन् ।
प्रदेशको धार्मिक तथा सांस्कृतिक सहर जनकपुरधामसँग जोडिएको नाम र प्रदेशवासीकै भाव तथा संवेदना बनेको जनकपुर बोल्ट्सको विजय मधेस प्रदेशका बासिन्दामा रहेको खेलप्रेमप्रतिको निष्ठा र आफ्नो टोलीलाई जिताउने विनम्र प्रार्थनाको अभिव्यक्ति पनि भएको उनले बताए ।
जनकपुर बोल्ट्सका सबै खेलाडी, खेल अधिकारी तथा टोलीसम्बद्ध सबैलाई मुख्यमन्त्री सिंहले शुभकामना दिएका छन् । ‘एनपीएलजस्ता प्रतियोगिताबाट नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना तथा खेल पर्यटनलाई बढावा दिने आधार तयार भएको छ,’ उनले भने, ‘खेलले एकता, सद्भाव र सहिष्णुताको भावना विकसित गरेको छ । एनपीएलले नेपाली क्रिकेटको अब्बल स्तरलाई दर्शाएको छ ।’
मुख्यमन्त्री सिंह फाइनलमा जनकपुर बोल्ट्सको हौसला बढाउन शनिबार काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमै पुगेका थिए ।
लाहिरु मिलान्थाको सानदार ब्याटिङमा जनकपुर बोल्ट्सले एनपीएल क्रिकेटको उपाधि जितेको हो । मिलान्थाको ८७ रन मद्दतले जनकपुरले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा प्रमुख दाबेदार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले स्तब्ध पारेको थियो ।
