प्रहरी कार्यालय अगाडि मृतक परिवारद्वारा धर्ना
बारा — सिमरा विमानस्थलस्थित प्रहरी यूनिटमा कार्यरत कार्यालय सहयोगी राजकुमार रूम्बा शनिबार मृत फेला परेका छन् ।
जितपुरसिमरा उपमहानगरपालिका-११ स्थित सडक किनारमा वाग्मती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारमा उनी टाउकोमा चोट लागेको अवस्थामा मृत फेला परेको प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । अरूको कार लिएर रूम्बा शुक्रबार राति सिमराबाट लोसण्डा गाउँतिर गएका थिए । कारको ढोका खुलेको अवस्थामा शव भेटिएकोले हत्या हुनसक्ने अनुमान प्रहरीको छ ।
घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
जितपुरसिमरा उपमहानगर-१७ नयाँ बस्ती निवासी ४० वर्षीय रूम्बा एयरपोर्ट प्रहरीमा भान्छे थिए । शव वीरगन्ज नारायणी अस्पतालमा लगिए पनि मृतकको परिवारका कारण शव पोस्टमार्टम हुनसकेको छैन । मृतकका परिवार, आफन्त र गाउँलेले नियोजित रूपमा हत्या गरिएको र प्रहरीले घटनामा संलग्न हुनेलाई पक्राउ गर्न नसकेको भन्दै इलाका प्रहरी घेराउ गरेका छन् ।
अहिले प्रहरी र मृतक पक्षबीच सिमरा इलाका प्रहरी कार्यालयमा वार्ता भइरहेको छ ।
