सिरहा — गोलबजार खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका लागि सम्पन्न निर्वाचनमा माओवादी केन्द्र-राष्ट्रिय स्वतन्त्र पार्टी गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
सत्तारूढ नेपाली कांग्रेस, नेकपा एमालेसहित जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै उनीहरू प्यानलसहित विजय भएका हुन् ।
निर्वाचनको अन्तिम परिणाम अनुसार, अध्यक्षमा माओवादी-रास्वपा गठबन्धनका जीवछ साह ३८४ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्दी विपक्षी गठबन्धनका अध्यक्ष पदका उम्मेदवार प्रमोद लामा भने ३१६ मत प्राप्त गरी पराजित व्यहोरे ।
यस्तै, उपाध्यक्ष पदमा माओवादी रास्वपा गठबन्धन प्यानलकै अनिल साह, सचिवमा पुजन सिंह, कोषाध्यक्षमा निर्मला कुमारी र सहसचिवमा रामेश्वर साह चुनिएका छन् । यस्तै, सदस्यहरूमा चिनु कुमारी भुजेल, रामकृपाल साह, कुसेश्वर पासवान र सुनिता यादव निर्वाचित भए ।
गोलबजार नेकपा एमालेका स्थायी कमिटी समस्य एवं सांसद लिलानाथ श्रेष्ठ र नेकपा माओवादीका स्थायी कमिटी समस्य विश्वनाथ साहको गृह पालिका हो । त्यसैले यस निर्वाचनलाई स्थानीयस्तरमा निकै चासोका साथ हेरिएको थियो ।
