धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अर्थमन्त्री सुनिलकुमार यादवको कार्यशैलीमाथि प्रश्न उठाउँदै स्पष्टीकरण सोधेका छन् । अर्थ मन्त्रालयको कारण अन्य मन्त्रालयको काम अघि बढ्न नसकेको, कार्यसम्पादनमा ढिलासुस्ती भएको तथा बजेट परिचालन अभावलगायत विषयमा अर्थमन्त्री यादवसँग मुख्यमन्त्री सिंहले जानकारी मागेका हुन् ।
२०८१ पुस २ गते मुख्यमन्त्री सिंहले आफैं हस्ताक्षर गरी अर्थमन्त्री यादवसँग जानकारी माग गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । अर्थ मन्त्रालयको विषयमा मन्त्रिपरिषद्को बैठकमा पटकपटक कुरा भए पनि ठोस निचोड र जानकारी नआएपछि अर्थमन्त्री यादवलाई ठोस निचोड पठाउन पत्र पठाएको मुख्यमन्त्री सिंहले बताए ।
'बैठकमा समस्याबारे कुराकानी हुन्छ, तर काम हुँदैन,' मुख्यमन्त्री सिंहले भने, ‘मैले अर्थमन्त्रीलाई पत्र पठाएर ठोस निचोड मागेको हो । त्यो स्पष्टीकरण होइन । मन्त्रीलाई पत्र पठाएर जवाफ मागेको नियमित प्रक्रिया हो ।’
अर्थमन्त्री यादवले मुख्यमन्त्रीले पठाएको पत्र प्राप्त नभएको बताए । 'सरकारमा सँगसँगै रहेको मन्त्रीलाई पत्र पठाउनुको आशय के हो ? बुझ्न सकेको छैन,' मन्त्री यादवले भने,‘मुख्यमन्त्री कार्यालयबाट स्पष्टीकरण सोधेको विषय जानकारी पाएको छैन । अर्थ मन्त्रालयले समन्वय गर्ने हो । काम गर्ने होइन ।’
'मन्त्रालयको प्रगति अर्थ मन्त्रालयले माग्ने हो तर अर्थ मन्त्रालयसँग नै मुख्यमन्त्रीले पत्र पठाएर जवाफ माग्न मिल्ने/नमिल्ने जानकारी भएन,' उनले भने ।
मुख्यममन्त्रीले अर्थमन्त्रीसँग स्पष्टीकरण सोध्दा सत्ता गठबन्धनभित्र सम्बन्ध बिग्रिँदै गएको सांसदहरुले शंका गरेका छन् ।
