सिरहाका ग्रामीण क्षेत्रमा निःशुल्क आँखा शिविर, ६ सयभन्दा बढी लाभान्वित 

पुस ४, २०८१

विनय आजाद

Free eye camp in rural areas of Siraha, more than 600 beneficiaries

सिरहा — सिरहाका ग्रामीण क्षेत्रमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ६ सयभन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् । सुखीपुर नगरपालिकाका दुई स्थानमा चलेको आँखा शिविरमा ६ सय ५० जना सर्वसाधारण लाभान्वित भएका हुन् ।

जसमध्ये ८१ जनाले मोतीया बिन्दुको शल्यक्रिया सेवा लिएको आयोजक संस्था सुखीपुर युवा सञ्जालले जनाएको छ । उनीहरूको बिहीबार कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा शल्यक्रिया गरिएको हो ।

उनीहरूको आँखाको जाँच भने गत मंसिर २९ गते सुखीपुर-२ छजनास्थित सामुदायिक विद्यालयको प्रांगणमा र मंसिर ३० गते सुखीपुर-१० दहिपौडीस्थित सामुदायिक विद्यालयको प्रांगणमामा शिविर सञ्चालन गरेर गरिएको थियो ।

आँखा जाँच शिविरमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर र स्वास्थ्य ट्रस्ट फाउन्डेसन सिरहाका प्राविधिक तथा चिकित्सकले सेवा दिएका थिए । शल्यक्रिया भने तिलगंगाका चिकित्सकले गरेका हुन् ।

शिविरमा बिरामीहरूलाई औषधिसमेत निःशुल्क वितरण गरिएको छ । यस्तै, चस्मा लिने बिरामीलाई २० प्रतिशत छुटमा उपलब्ध गराइएको सञ्जालले जनाएको छ । शिविरमा सुखीपुर नगरपालिकासहित जिल्लाका अन्य पालिकाका सर्वसाधारणले पनि जाँच तथा शल्यक्रिया सेवा लिएको सञ्जालका शिव यादवले बताए ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully