सिरहा — सिरहाबाट नामुद भारतीय डाँका पक्राउ परेका छन् । प्रहरीले सिरहा नगरपालिका-१७ माडरस्थित दशगजा क्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेनलाई पक्राउ गरेको हो ।
आरिफलाई शनिबार बिहान ४ बजे हात खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको घाइते अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । प्रहरीका अनुसार, नेपालसहित भारतको विभिन्न स्थानमा भएका डाँका, लुटपाट तथा संगठित अपराध मुद्दामा प्रतिवादी रहेका उनी फरार रहँदै आएका थिए ।
महोत्तरी जिल्लास्थित महोत्तरी गाउँपालिका-२ स्थित एनएमबी बैंकको शाखामा २०८० जेठ १६ मा भएको लुटपाट घटनामा पनि उनी प्रतिवादी रहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले बताए । त्यस शाखाबाट ५ जनाको हतियारधारी समूहले पेस्तोल देखाउँदै ३८ लाख लुटपाट गरेको थियो ।
यस्तै, २०७९ फागुन १० मा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ३ स्थित बतहा पुलमा पैसा बोकेर गइरहेका ग्लोबल आइएमई बैंकका कर्मचारीलाई पेस्तोल देखाई उनको साथबाट ९ लाख रुपैयाँ लुटेर फरार भएको घटनामा पनि उनी प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनीमाथि भारतको थुप्रै स्थानमा समेत हातहतियार, लुटपाटलगायतका मुद्दा दर्ता छ । भारतीय प्रहरीले उनलाई पक्राउ गर्ने २५ हजार पुरस्कार दिने घोषणा गरेको समेत बुझिएको सिरहा प्रहरीले जनाएको छ ।
