६० किलो चाँदी बरामद 

मंसिर २२, २०८१

लक्ष्मी साह

60 kg of silver recovered

बारा — प्रहरीले १ करोड २ लाख बराबरको ६० किलो चाँदीसहित १ जनालाई शनिबार पक्राउ गरेको छ । जिल्ला बारा कलैया उपमहानगरपालिका-५ घुसुकपुरका ३६ वर्षीय कर्म साह सोनार चाँदी, स्कुटीसहित पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाकाअनुसार पथलैया- हेटौंडा सडक खण्डको जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जबाट चाँदी बरामदसहित एक जनालाई पक्राउ गरिएको हो ।  वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३-००५ प ३२६ नम्बरको स्कुटीलाई रोकी जाँच गर्दा उक्त स्कुटीको खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाई लुकाइछिपाई लगिरहेको चाँदी बरामद गरिएको उनले बताए । यसबारे थप अनुसन्धान भइरहेको डीएसपी सापकोटाले बताए । 

अमलेखगन्ज इलाका प्रहरी कार्यालयका सई टेकबहादुर कार्कीको टोलीले चाँदी बरामद गरेको हो । सुराकीले दिएको सूचनाको आधारमा चाँदी बरामदसहित सोनारलाई पक्राउ गरिएको प्रहरीले जनायो ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully