सिरहा — सिरहाको मिर्चैया नगरपालिका–५ स्थित बजार क्षेत्रमा आइतबार खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको घटनाको छानबिन हुने भएको छ । स्थानीय २५ वर्षीया रोजिनादेवी महतोको मृत्यु घटनाको अनुसन्धानका लागि सोमबार छानबिन समिति गठन भएको हो ।
ती महिलाको मृत्यु घटनाको छानबिनका लागि तीन सदस्यीय समिति गठन भएको सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए । समितिमा पूर्वाधार कार्यालय, सिरहा प्रमुख रामदेव खड्का, इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोबिन्द साह र जिल्ला प्रशासन कार्यालय सिरहाका अधिकृत सुरेश साह छन् ।
छानबिन समितिले आजको मितिदेखि १५ दिनभित्र प्रतिवेदन पेस गर्ने दाहालले बताए । मिर्चैया नगरपालिकाको कार्यालय छेउमै नालाका लागि खनेर अलपत्र छाडिएको खाल्डोमा जमेको पानीमा बिहान ९ बजे चिप्लिएर लडेकी रोजिनाको डुबेर मृत्यु भएको थियो ।
सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै आफन्त र स्थानीय छानबिन समिति बनाउन माग गर्दै शव बुझ्न मानेका थिएनन् । मृतकका आफन्तका अनुसार नगरपालिकाले उक्त खाल्डो एक वर्षअघि खनेको थियो ।
तर मिर्चैया नगरपालिकाले भने यो योजना संघीय सरकारको भएको दाबी गरेको छ । मिर्चैया नगरपालिका नगरप्रमुख श्रवणकुमार यादवले कान्तिपुरसित भने, ‘यो योजना संघीय सरकारको हो, उतैका ठेकेदारले यो खनेको हुन्, हामीले होइन ।’
यता मिर्चैया बजार क्षेत्रमा दुई वर्षअघि नाला निर्माणको काम गरेको सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, राजविराजले आफूहरुले पनि उक्त खाल्डो नखनेको दाबी गरेको छ । आफ्नो ठेकेदार र स्थानीयसँग बुझ्दा उक्त खाल्डो एकवर्षअघि खनिएको र त्यो अवधिमा आफूहरुले त्यहाँ काम नै नगरेको कार्यालयका प्रमुख उदय चौधरीले दाबी गरे ।
‘नगरपालिकाले हामीहरुले खाल्डो खनेको भनिरहेको छ । तर त्यस अवधिमा हामीले त्यहाँ काम नै गरेका छैनौं,’ उनले कान्तिपुरसित भने, ‘खाल्डो कसले खन्यो, हामी पनि आश्चर्यमा परेका छौं ।’
