काट्ने बेला भएको धानमा रोगको संक्रमण

मंसिर १७, २०८१

सन्तोष सिंह

Infection of rice at harvest time

धनुषा — धान काटेर थन्काउने बेला नेरहा (कालोपोक) रोगको संक्रमण देखा परेको छ । विगत तीन वर्षको तुलनामा यो वर्ष धान राम्रो फलेको भएपनि थन्काउने बेलामा रोग लाग्दा किसान चिन्तित छन् ।

धानमा रोग लाग्दा किसानलाई धान काट्न चटारो भएको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष कुमार पालले बताए ।

'विगत तीन वर्षको तुलनामा यस वर्ष पर्याप्त धान उत्पादन भएपनि रोगले सताएको छ,' प्रमुख पालले भने,‘कृषि ज्ञान केन्द्र धानको उत्पदकत्व कति भयो पत्ता लगाउना जाँदा धानमा नेरहा रोग लागेको पाएका छौँ । रोग लागेकाले धान चाँडो काट्न किसानलाई आग्रह गरेका छौँ ।’

उनका अनुसार महोत्तरीमा यो वर्ष धान उत्पादन वृद्धि भएर प्रतिकठ्ठा दुई क्वीन्टल भन्दा बढी भएको छ । यहाँ सोना मन्सुली, कतरनी, बासमती, बहुगुनि, रामविलास, सावित्री, हर्दिनाथ लगायतको धान उत्पादन भइरहेको छ । उत्पादन र स्वादको दृष्टिकोणले अधिकांसले सोनामन्सुली धानको खेती गर्दै आएको छ ।

चाँडै हुने रामविलास जात पनि किसानको रोजाइमा पर्ने गरेको छ । बासमति सबैले रुचाउने र माग बढी भएपनि उत्पादन कम हुने भएकोले किसान बासमती धान घर खर्च तथा चाडवाडमा प्रयोग गर्न मात्र उत्पादन गर्ने गरेको ज्ञान केन्द्रका प्रमुख पालले बताए ।

महोत्तरीमा लोप हुन लागेको धान तुलसीफूल जातको खेती भएको अनुगमनको क्रममा पाइएको छ । पिपरा गाउँपालिका–६, रतनपुर टोलमा यहाँको रैथाने जात तुलसीफुलको खेती भएको पाइएको पालले बताए ।

घरमा पाहुना आउँदा, बिहेमा भोजभतेर गर्दा,  पूजा पाठका साथै खिरमा तुलसी फुलको चामल बढी उपयोग गरिन्छ । अन्य जातको सरदर उत्पादन (१३० किलो प्रति कठा) भन्दा यसको उत्पादन न्यून हुने भएकोले (६० किलो प्रति कठ्ठा) थोरै किसानले मात्र यसको खेती गर्ने गरेको ज्ञान केन्द्र प्रमुख पालले बताए  ।

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully