स्थानीय तहमा कमिसनको ‘सेटिङ’ : सरुवापछि पनि पुन: साेही पालिकामा फर्किन प्रशासकीय अधिकृतहरूको मरिहत्ते

कार्तिक ११, २०८१

सन्तोष सिंह

'Setting' of the commission at the local level: The desire of the administrative officers to return to Saehi Municipality even after the transfer

धनुषा — स्थानीय तहबाट प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदा जालझेल गर्ने प्रवृत्ति बढ्दै गएको छ । एउटै स्थानीय तहमा रहेर विकास निर्माणको कामबाट हुने अवैध कमाइ, पालिका सञ्चालनका लागि हुने खरिदमा कमिसन र सेवा सुविधाका लागि ‘सेटिङ’ गर्न सक्ने अधिकृतहरू सरुवा हुँदा पालिका छोड्नै नचाहने स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

कमिसन दिने/उठाउने र खरिद गर्ने सप्लायर्ससँगको सम्बन्धले पनि प्रशासकीय अधिकृत स्थानीय तहबाट सरुवा भएर जान नचाहने सरोकारवालाको दाबी छ । लामो समयसम्म एउटै स्थानीय तहमा बसेका अधिकृतले कमिसन संकलन गर्ने नेटवर्क बनाउनुका साथै जनप्रतिनिधिको कमजोरी बुझेर भ्रष्टाचार गर्न पल्केका हुन् । 

स्वार्थ मिले वर्षौंसम्म बस्ने र स्वार्थ नमिले महिना दिनमै प्रमुख प्रशासकीय अधिकृतको संघीय प्रशासन मन्त्रालयले सरुवा गर्दा जनप्रतिनिधिले अपेक्षाअनुसार काम गर्न समस्या भएको सम्सी गाउँपालिकाकी उपप्रमुख अनिताकुमारी यादवले बताइन् । ‘कार्यालय नआउने, महिनामा २/३ दिन १/२ घण्टाका लागि कार्यालय आउने, गुनोसो गर्दा जनप्रतिनिधिलाई नै हुलहुज्जत गर्ने प्रशासकीय अधिकृत सरुवा भएर पनि पुनः गाउँपालिकामा आउदा द्वन्द्व बढाएको छ,’ उनले भनिन् । 

एउटै पालिकामा धेरै अधिकृत जान चाहने र कतिपय स्थानीय तहमा अधिकृत जान नचाहेपछि निमित्तकै भरमा मधेश प्रदेशका स्थानीय तह सञ्चालन भइरहेका छन् । 

महोत्तरीको गौशाला नगरपालिकामा दुई साताअघि सरुवा भएर आएका प्रशासकीय अधिकृत सुबोध ठाकुरको पछिल्लो ५ महिनामा तीन स्थानीय तहमा सरुवा भइसकेको छ । असारमा धनुषाको हंसपुरमा सरुवा भएका उनलाई जनप्रतिनिधिले हाजिर हुन दिएनन् । लामो समयसम्म हंसपुर बस्दा जनप्रतिनिधिलाई नटेरेपछि हंसपुरबाट सरुवा भएको दुई महिनापछि ठाकुर पुनः हाजिर हुन आउँदा जनप्रतिनिधिले अवरोध गरेका थिए । 

हंसपुरमा हाजिर हुन नदिएपछि साउन २९ मा ठाकुरको सरुवा धनुषाकै कमला नगरपालिकामा भयो । पहिले त्यहाँ बसेर व्यापक अनियमितता गरेको आरोप लागेका उनलाई कमलामा पनि जनप्रतिनिधिले हाजिर हुन नदिएको कमला नगरपालिकाका प्रमुख विशेश्वर यादवले बताए । नगरपालिकामा बस्दा जनप्रतिनिधिहरूबीचमै विवाद गराएर गोप्य रूपमा नगरको बजेटले विभिन्न सामग्री खरिद गरी कमिसन उठाउने र नगरपालिकामा समन्वयभन्दा पनि विवाद बढाएकाले दोस्रो पटक सरुवा भएर आउँदा ठाकुरलाई हाजिर हुन नदिएको यादवले बताए ।

कमला नगरपालिकामा हाजिर हुन नपाएपछि संघीय प्रशासन मन्त्रालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर ठाकुर महोत्तरीको गौशाला नगरपालिकामा सरुवा मिलाएर आएको कर्मचारीहरू बताउँछन् । यसबारेमा उनीसँग सम्पर्क गर्दा सम्पर्कै हुन सकेन । 

महोत्तरीको सम्सी गाउँपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्र पनि पुनः गाउँपालिका फर्किन शक्तिकेन्द्रमा धाइरहेको जनप्रतिनिधिहरू गुनासो गर्छन् । पटक–पटक सरुवा गर्दा पनि सर्वोच्च अदालतको ‘स्टे अर्डर’ ल्याएर सम्सी गाउँपालिकामै बस्दै आएका उनी अदालत, संघीय प्रशासन मन्त्रालय र सम्सीका जनप्रतिनिधिलाई आफ्नो पक्षमा पार्न आर्थिक चलखेल गर्न माहिर रहेको एक जनप्रतिनिधिले बताए ।

गाउँपालिकाको प्रशासकीय अधिकृतमा मनोजकुमार साह सरुवा भएर गत आइतबारदेखि जिम्मेवारी सम्हालेपछि मिश्रले सम्सीमै बस्न आर्थिक चलखेल गरिरहेको उनले बताए । 

२०७८ मंसिर २३ मा सम्सी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर आएका मिश्रको तीनपटक सरुवा भइसकेको छ । तर, मिश्रले अदालत र संघीय प्रशासन मन्त्रालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर सम्सीमा बस्दै आएको ती जनप्रतिनिधिको दाबी छ । 

पहिलो पटक तीन महिनामै सरुवा भएपछि गाउँपालिकाको कामकाजमा बाधा पुग्ने भन्दै तत्कालीन गाउँपालिका अध्यक्ष शेष फारुक र प्रशासकीय अधिकृत मिश्रले संयुक्त रूपमा सर्वोच्च अदालतमा उत्प्रेषणसमेतको मुद्दा दर्ता गराएका थिए । त्यसपछि मिश्र प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पुनः फर्किएका थिए । मुद्दा दर्ता गराएका तत्कालीन गाउँपालिका अध्यक्ष शेष फारुकको मृत्यु भइसकेको छ । तर, मिश्र भने तत्कालीन आदेश देखाउँदै सरुवा गरिए पनि अन्यत्र जानै चाहँदैनन् । यसबारेमा सम्पर्क गर्दा उनी सम्पर्कमै आउन चाहेनन् ।

अधिकृत मिश्र २ महिनासम्म बिनाजानकारी गाउँपालिकामा नआएपछि सम्सी गाउँपालिकाकी उपप्रमुख यादवले मिश्रको हाजिरी पुस्तिकामा कैफियत लेखेर अर्का प्रमुख प्रशासकीय अधिकृत ल्याउन मन्त्रालयलाई गुहारेकी थिइन् । ०८१ साउन २१ गतेदेखि मिश्र सम्पर्कमै नआएपछि संघीय प्रशासन मन्त्रालयले सम्सी गाउँपालिकामा मनोजकुमार साहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ । साहले जिम्मेवारी सम्हालेपछि मिश्र फेरि सम्सीमै फर्किन अदालत र मन्त्रालय धाइरहेको उपप्रमुख यादवले बताइन् ।

सम्सीमा प्रशासकीय अधिकृत हुँदा मिश्रले जनकपुरस्थित घरमै बसेर कार्यालयको काम गर्दै आएका थिए । कार्यालय नजाने मिश्रले गाउँपालिकाको हाजिरी पुस्तिका घरमै मगाएर हाजिरी गर्दै आएका थिए । अदालत, मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफूले चाहेअनुसार निर्णय गराउन सक्ने भन्दै मिश्रले कृषि, स्वास्थ्य, भौतिक पूर्वाधर र जनचेतनामूलक कार्यक्रमको योजनाबाट कमिसन लिने गरेको गाउँपालिकाकै कर्मचारीहरू बताउँछन् ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully